उत्तराखण्ड बाढीमा २४ नेपाली बेपत्ताको आशंका
भारतको उत्तराखण्डमा गएको पहिरोमा परी यो समाचार तयार पार्दासम्म २४ जना नेपाली सम्पर्कबिहिन भएको पुष्टि भएको छ । पहिरोमा परी अरु थुप्रै नेपाली बेपत्ता तथा हताहत भएको हुनसक्ने अनुमान गरिएको छ । हाल पहिरोमा परेकाहरुको उद्धार तथा विवरण संकलनको काम भईरहेकोले पुर्ण विवरण आउन केही दिन लाग्ने बताइएको छ ।
उत्तराखण्डमा काम गर्न गएका धादिङका ४ जना सम्पर्कविहीन भएका छन् । ज्वालामुखी गाउँपालिका–२, काफलपानीका सिंहबहादुर तामाङ, लालबहादुर तामाङ, छोलामा तामाङ र फेलामा तामाङ सम्पर्कमा नरहेको बताइएको छ । मोवाईल अफ भएका कारण सम्पर्क नभएको हो या पहिरोमा हताहत भएका कारण सम्पर्क नभएको हो त्यो भने खुल्न सकेको छैन ।
त्यस्तै मंगलबार र बुधबार आएको बाढीपहिरोपछि जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन् । मंगलबार ’क्लाउड बस्र्ट’ (आरिघोप्टे वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो ।
जाजारकोटको कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहको मृत्यु भएको मानबहादुर सिंहका छोरा नवीनले जानकारी गराएका छन् । २१ वर्षका नवीन बुवासँगै काम गर्न गएका थिए । उनीसँगै सोही वडाका अनुमानित २० जना काम गर्दै आएको नवीनले जानकारी दिएको वडाध्यक्ष मानबहादुर सिंहले बताएका छन् ।
यस्तै जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । बेपत्ता भएकाहरुको खोजि कार्य भईरहेको छ ।

हेर्दाहेर्दै पाँच जनालाई टेन्टसहित बगायो
उत्तराखण्डको पौडी गढवाल क्षेत्रमा मंगलबारदेखि नै वर्षा भइरहेको थियो । पौडी गढवालको थलिसेनमा बर्दियाका नेपाली कामदार टेन्टमा बस्थे । सडक निर्माणका कामका लागि त्यहाँ पुगेका उनीहरु वर्षाका कारण बाहिर निस्किन सकेका थिएनन् । बुधबार पनि वर्षा भइरहेकै थियो । एक्कासि माथिबाट आएको पहिरोले टेन्टसहित मान्छे पनि बगाएर लग्यो ।
‘हामीले हेर्दाहेर्दै तल खोलामा पु¥यायो, त्यसपछि केही पत्ता लागेन,’ ५ महिनादेखि पौडी गढवालको थलिसेन ब्लकअन्तर्गत बकुडा गाउँमा सडक निर्माणको काम गरिरहेका बर्दियाको मधुवन नगरपालिका–५ का चित्रबहादुर पौडेलले भने, ‘बिहान पौने ९ बजेतिर पहिरो आएको हो, त्यहीबेला टेन्टमुनि भएका पाँचै जना बेपत्ता भएका हुन् ।’
पौडेलका अनुसार बिहान उठेर सबै हातमुख धोएर खाजा बनाउने तथा खाने काम भइरहेको थियो । कोही टेन्टभित्रै पल्टिएका थिए । कोही जंगलतर्फ गएका थिए । टेन्टभित्र रहेका सबैलाई बगाएर लगेको पौडेल बताउँछन् । उनका अनुसार सडक छेउमै रहेको टेन्टभन्दा ५० मिटर माथिबाट आएको ठूलो पहिरोले एकै पटक सबै बगाएको थियो ।
पौडेलका अनुसार बर्दियाबाट सडक निर्माणका लागि २८ जना कामदार बखुडा पुगेका थिए । उनका अनुसार बेपत्ता हुनेमा वडा नं ५ कै नरेन्द्र खड्का र उनकी श्रीमती सन्ध्या खड्का तथा १८ महिनाको बालक रोमन रहेका छन् । यसैगरि वडा नं. ५ कै अमृता परियार र सुवास विक रहेका छन् ।
पहिरोमा परी लक्ष्मी परियार र भुपेन्द्र खत्रीको हात खुट्टा भाँचिएको छ । उनीहरुको हल्द्वानीमा उपचार भइरहेको छ । सामानय घाइते भएका कालीग्राम चौधरी र अशोक परियार भने सामान्य उपचारपछि निको भएका छन् ।
‘आज पनि १०/१५ किलोमिटर तलसम्म सिन्धु खोलाको किनारैकिनार खोजीमा गयौं,’ पौडेलले भने, ‘तर कतै भटिएनन् ।’ उनका अनुसार खोजीमा प्रहरी र स्थानीय स्थानीय सबै खटिएका छन् ।
उक्त क्षेत्रमा देघाटदेखि जितपुर र रामनगर जाने पक्की सडक निर्माण भइरहेको छ । सोही सडक किनारमा नाली, प्याराफिट लगायतको कामका लागि नेपालीहरु त्यहाँ पुगेका हुन् । पौडेल आफै १०/१२ वर्षदेखि बकुडा गइरहेका छन् । उनले नै अन्य नेपालीलाई पनि लगेर गएका हुन् । उनका अनुसार बकुडा आसपासको क्षेत्रमा अन्य नेपालीहरु समेत सडकको काममा खटिएका छन् ।
उत्तराखण्ड बाढीमा हराएका नेपालीको खोजिका लागी कुटनितिक पहल
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन् ।
बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको उनले जानकारी दिएकी छन् । बाढीमा परेर नेपाली नागरिक पनि बेपत्ता भएको भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै परराष्ट्रमन्त्री डा. राणाले उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।
उत्तराखण्ड बाढीपहिरोबाट भएको क्षतिले दुखित भएको छु; प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको खबरले आफू चिन्तित रहेको बताएका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुने क्रममा तुर्कमेनिस्तानमा रहेका प्रधानमन्त्री ओलीले बाढीमा १८ जनाभन्दा बढी नेपाली बेपत्ता भएको पनि बताएका छन् ।
उनले उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको पनि जानकारी दिएका छन् । ओली उक्त सम्मेलनमा भाग लिन १८ गते प्रस्थान गरेका थिए भने शुक्रबार राति स्वेदश फर्कंदैछन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्