रवि लामिछानेलाई नख्खु कारागार सार्ने तयारी
रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ । यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् ।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, आजै उनलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ । शर्माले भनेका छन–‘नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएका छौं ।’
शर्माका अनुसार, लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार निर्णय भएको हो । शर्माले भनेका छन्–‘उहाँको मन्जुरीनामा नै लिखित रुपमा नक्खु कारागार भनेर माग्नुभएको थियो । त्यही अनुसार निर्णय गरेर पठाएका हौं ।’
शर्मा गृह मन्त्रालयबाट सरुवा भएर कारागार विभागको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । यसअघि कारागार विभागको महानिर्देशकमा नारायण प्रसाद भट्टराई थिए । उनलाई निर्वाचन आयोग सरुवा गरेर शर्मालाई पठाइएको थियो ।
गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा रविको कारागार सरुवाको काम भइरहेको बताएका थिए ।
महानिर्देशक शर्माका अनुसार, अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले काम कारबाही अघि बढाएर उनको कारागार सरुवा हुनेछ । कारागार विभागका महानिर्देशक शर्माले भनेका छन्–‘रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले उहाँ (रवि लामिछाने) लाई नक्खु कारागार ल्याउने प्रक्रिया अघि बढाउँछ ।’








फेसबुकबाट कमेन्ट गर्नुहोस्