जापानको होक्काईदोमा २ महिला मृत फेला
होक्काइडोको हिदाका पर्वत श्रृंखलाबाट बग्ने नदीको नजिक शनिबार दुई जना महिला (उमेर ६६ र ७८ वर्ष) बेहोस अवस्थामा फेला परेपछि उनीहरूको मृत्यु पुष्टि गरिएको छ।
एनएचकेको रिपोर्ट अनुसार, प्रहरीले ती दुई महिलाको मृत्यु पर्वतारोहण दुर्घटनाका कारण भएको हुनसक्ने विश्वास गरेको छ।
प्रहरीका अनुसार, दिउँसो करिब ३ बजे एक पदयात्रीले होक्काइडोको टोकाची क्षेत्रको नाकासात्सुनाइ गाउँमा पर्ने कामुइएकुचिकाउसि हिमालबाट बग्ने सासुनाइ नदीको किनारमा एक महिला लडेको देखे र घटनाको जानकारी प्रहरीलाई दिए।
त्यसपछि प्रहरीले हेलिकप्टरबाट हवाई खोज सुरु गर्यो र दिउँसो ४:३० बजे ती महिलालाई फेला पार्यो। त्यही क्रममा हेलिकप्टर टोलीले ५:३० बजे सोही स्थानको नजिकै अर्की महिला पनि लडेको अवस्थामा देखे। दुबै महिलालाई अस्पताल लगिएको थियो, जहाँ उनीहरूको मृत्यु पुष्टि गरिएको हो।

मृतकहरूमा ६६ वर्षीया चिएको कोयामा (सैतामाको ओगावा नगर निवासी) र ७८ वर्षीया चियोए कामेइ (टोकियो निवासी) थिए।
प्रहरीका अनुसार, दुवै महिलाको शरीरमा कुनै गम्भीर चोट थिएन, तर उनीहरूको लुगा भिजेको अवस्थामा थियो।
शव फेला परेको स्थान कामुइएकुचिकाउसि हिमालको सासुनाइ नदी हटदेखि करिब ६ किलोमिटर माथि छ। प्रहरीको अनुमान अनुसार ती महिलाहरू पर्वतारोहण गरिरहेका थिए र कुनै किसिमले नदीमा खसे।
प्रहरीले अझैसम्म दुबै महिला सँगै चढाइ गरिरहेका थिए वा होइनन् भन्ने पुष्टि गर्न सकेको छैन।
समुद्री सतहदेखि १,९७९ मिटर उचाइमा रहेको कामुइएकुचिकाउसि हिमाललाई पर्वतारोहण प्रेमीहरूबीच “कामुएकु” भनेर चिनिन्छ। यो हिमाल जापानका सबैभन्दा कठिन चढाइ हुने पर्वतहरूमध्ये एक मानिन्छ, जहाँ नदी पार गर्ने बाटोहरू र धेरै ठाडो उकालाहरू छन्।
क्योदो न्युजबाट साभार गरिएको ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्