सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दोलखामा बिद्यार्थीमाथी प्रिन्सिपलको निर्घात कुटपिट

दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँका १२ वर्षीय बालकलाई स्कुलकै प्रिन्सिपलले कार्यकक्षमा लगेर निर्घात कुटपिट गरेका छन् ।

आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीले कक्षा ५ मा अध्ययनरत रञ्जित राउतमाथि सोमबार निर्घात कुटपिट गरेको रञ्जितका बुबा जितबहादुर राउतले जानकारी दिएका छन् ।

घर फर्किएपछि बालकले सुरुमा केही नबताए पनि राति छटपटी गरेर सुत्न नसकेपछि आमाबाबुले शरीर हेरेका थिए ।

छोराको दुवै तिघ्रामा निलडाम र घाँटीमा चोट देखिएपछि मंगलबार चरिकोटस्थित च्छो रोल्पा अस्पताल लगिएको थियो । परीक्षण गर्दा कुटपिट भएको स्थानमा रगत जमेको, मासु च्यातिएको रिपोर्ट आएको पीडितका पिता जितबहादुर राउतले जानकारी दिएका छन् ।

जितबहादुरले भनेका छन्–‘छोरा बेलुका खाना नखाई सुतेको थियो । रातभर सुत्न सकेन । बिहान हेर्दा पिडुँला र गर्धनमा निलो र सुन्निएको रहेछ । तुरुन्त अस्पताल लग्यौ । पछि रिपोर्ट आउँदा रगत जमेको अनि मासु च्यातिएको आयो ।’ अहिले पनि राम्रोसँग टेक्न नसकेको जितबाहदुरले जानकारी दिएका छन् ।

जितबहादुरले भने–‘अहिलेपनि कुर्कुच्चा राम्रोसँग टेक्न सकेको छैन, टेक्दा खेरि झसक्क झस्किछ भन्छ छोरोले, कहि नसातिर पो असर पुग्यो की ! कुर्कुच्चो टेक्न नहुने, घुँडाको सिधा पछाडी झस्कने भइरहेको छ ।’

प्रिन्सिपल अजितकुमारले काठको भाटोले तिघ्रामा कुटेको तथा घाँटी ङ्याकेको आरोप पीडित पक्षको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको जितबहादुरले बताए ।

सोमबार स्कुलमा तीज विशेष कार्यक्रम चलिरहेका बेला केही विद्यार्थीहरू स्कुल परिसरमा खेल्दै थिए । खेल्दाखेरि प्रिन्सिपल अजितकुमार चौधरीकी छोरीको आँखा माथी ढुङ्गा जस्तै वस्तु उछिटिएर लागेको थियो । उनको छोरीलाई रञ्जितले ढुंगाले हानेको आरोपमा प्रिन्सिपल चौधरीले रञ्जितलाई कार्यकक्षमा बोलाएर भाटैभाटाले कुटेको आरोप पीडित पक्षको छ ।

यस बारेमा विद्यालयका प्रिन्सिपल अजितकुमार चौधरीले झुटो बोलेको कारण आक्रोशित भएर कुटपिट गरेको स्वीकार गरेका छन् । ‘बच्चाहरू ढुंगाले हानाहान गरे । खेलिरहेका थिए । ढुंगा नफाल है भनेँ तर ढुंगा हानाहान गर्दा मेरो छोरीको आँखा माथि चोट लाग्यो । कसले हानेको भन्दा अरुले रञ्जितलाई दोष लगाए तर रञ्जितले घटना स्वीकार गरेन । त्यसपछि ढाँटेकोमा आक्रोशित भए अनि कुटेँ ।’ प्रिन्सिपल चौधरीले भने, रञ्जित आउन नमानेको कारण गर्धनमा समातेर ल्याउँदा चोट लाग्यो ।’

प्रिन्सिपल चौधरीले रञ्जितलाई कुटपिट गरेको स्वीकार गर्दै घटना नियतवस नभइ भवितव्य भएको बताएका छन् । ‘भवितव्य भयो । नियतले हैन । दशा लागेको रहेछ । अब देखि पाठ सिकेँ कहिल्यै नपिट्ने बाँचा गर्छु । र विद्यालयलाई बालमैत्री बनाउँछु’, प्रिन्सिपल चौधरीले भने ।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी आएको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । उजुरी भएपछि (बुधबार) दुबै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिँदै छलफलका क्रममा जाहेरवालाहरुले जे चाह्यो त्यहि अनुसार कार्बाही हुने डिएसपी महतोले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS