सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मंगलबार देखि काठमाण्डौमा साझाको रात्रि सेवा

साझा यातायातले काठमाण्डौमा रात्रिकालीन बस सेवा सुरु गरेको छ । मंगलबार देखि साझाले राति साढे ८ देखि ११ बजेसम्म ५ वटा रुटमा रात्रीकालीन सेवा दिन सुरु गरेको हो ।

अस्पतालका कुरुवा, ढिलासम्म काममा रहने कामदार तथा बसपार्कमा राति आइपुग्ने यात्रुलाई लक्षित गरेर सेवा दिन थालिएको साझा यातायातले जनाएको छ । रात्रिकालिन सेवाले रातिको समयमा यात्रुहरुलाई पर्ने अप्ठेरोको राहत पुग्ने साझा यातायातको विश्वास छ ।

साझाले सुरु गरेका ५ वटा रुट मध्ये एउटा अस्पतालका बिरामी र तिनका कुरुवालाई लक्षित गरेको छ । पाटन अस्पतालबाट छुट्ने बस त्रिपुरेश्वर आँखा अस्पताल हुँदै बीर अस्पताल, त्रिबि टिचिङ अस्पताल, गंगालाल हृदयरोग केन्द्र हुँदै न्युरो अस्पतालसम्म पुग्नेछ र सोही रुट भएर फर्किनेछ ।

यसैगरी साझाले अर्को रुट न्युरोड गेटबाट नयाँ बनेश्वर–कोटेश्वर भएर चलाउनेछ । यो रुटमा साढे ११ बजेसम्म बस चल्नेछ । यसैगरी न्युरोड गेटबाटै सिंहदरबार–बानेश्वर–तीनकुने हुँदै एयरपोर्ट–गौशाला–चाबहिल हुँदै जोरपाटी पुग्नेछ र त्यही बाटो भएर फर्किनेछ ।

यसैगरी न्युरोड गेटबाटै त्रिपुरेश्वर–कालीमाटी–कलंकी रुटमा पनि राति ११ बजे सम्म साझा बस चल्नेछ । न्युरोड गेटबाटै ठमेल–सोह्रखुटे–नयाँ बसपार्कसम्म अर्को बस चल्नेछ । सबै बसहरु जुन रुटबाट गएका हुन सोही बाटो भएर फर्किने साझाले जानकारी दिएको छ ।

साझाको रात्रीकालीन बसको भाडादर २५ रुपैयाँ तोकेको छ । जहाँबाट चढेर जहाँ झर्दा पनि २५ रुपैयाँ भाडा कायम गरिएको साझाले जनाएको छ । सुरक्षाका लागि बसमा सिसी क्यामेराको निगरानी रहने साझा यातायातले सबैमा जानकारी गराएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्