मोदी, सी जिनपिङ र पुटिनको सामिप्यता
शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् ।
शिखर सम्मेलनअघिको फोटो सेसनमा तीनै नेता एकअर्कालाई हात समातिरहेका देखिएका छन् । यस क्रममा मोदीले पुटिनलाई अंकमाल समेत गरेका छन् ।
यसअघि आइतबार मोदीले जिनपिङसँग द्विपक्षीय भेटवार्तामा व्यापार र आतंकवादलगायत विभिन्न विषयमा छलफल गरेका थिए । एससीओ शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले यसवर्ष एससीओका सदस्य मुलुकहरूलाई २ अर्ब युआन (करिब २८१ मिलियन अमेरिकी डलर) अनुदान दिने घोषणा गरेका छन् ।

यो सहयोग सदस्य मुलुकहरूको आर्थिक र विकाससम्बन्धी आवश्यकताहरू पूरा गर्न उपयोग हुने उनले बताएका छन् । बैठकलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले भने, ‘यो संगठन आतंकवाद, अलगाववाद र उग्रवादको विरुद्धमा छ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एससीओ देशहरूमा उच्च भन्सार शुल्क लगाइरहेको सन्दर्भमा यी देशहरू अमेरिकी दबाबको विरोधमा साझा प्लेटफर्म खोजिरहेका छन् । जिनपिङ यो सम्मेलनलाई अमेरिकी नेतृत्वमा आधारित ग्लोबल अर्डरको विकल्प प्रस्तुत गर्ने मञ्च बनाउन चाहन्छन् । चीन, रसिया, भारत, इरान जस्ता मुलुकहरूसँग मिलेर वैकल्पिक शक्ति बन्न सक्छ ।
यसपटक सम्मेलनमा केवल एससीओ सदस्य बाहेकका पर्यवेक्षक र साझेदार देशहरूसहित २० भन्दा बढी देशका नेताहरू सहभागी छन् । त्यसमा नेपाल प्रधानमन्त्री केपि शर्मा ओली पनि सहभागी छन् ।

मोदीले एक्समा भेटका तस्वीरहरू शेयर गर्दै लेखेका छन्, ‘थियानजिनमा भेटघाट जारी, एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिन र राष्ट्रपति शीसँग विचारहरूको आदानप्रदान भइरहेको छ ।’
यसअघि आइतबार प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी ओली, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजÞ्जू, इजिप्टका प्रधानमन्त्री मुस्तफा माडबाउली, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, कजाखस्तानका राष्ट्रपति तोकायेव, म्यानमारका वरिष्ठ जनरल मिन आङ हलाइङसँग पनि भेट गरेका थिए ।
उनीहरूले भेटघाटका तस्वीर र आफ्ना अनुभव एक्स पोस्टमार्फत साझा गरेका छन् । प्रधानमन्त्री मोदीले यी बैठकहरूमा व्यापार, ऊर्जा, सुरक्षा र आपसी सहकार्यजस्ता धेरै महत्त्वपूर्ण विषयमा छलफल भएको बताएका छन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्