नेपालका प्रधानमन्त्री र रुसी राष्ट्रपतिबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच सोमबार साँझ चीनमा भेटवार्ता भएको छ ।
सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति पुटिनबीच सोमबार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् । त्यस्तै, रुसमा नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति बढाउनेबारे पनि छलफल भएको बताईएको छ ।
जवाफमा रुसी राष्ट्रपति पुटिनले ठोस जवाफ नदिए पनि नेपाल–रुस दौत्य सम्बन्धको स्मरण गर्दै दुई देशबीच भूराजनीतिक र कूटनीतिक मतभेद नरहेको बताएका छन् ।
राष्ट्रपति पुटिनले रुस र नेपालबीच कहिल्यै कुनै समस्या नआएको भन्दै आपसी सहयोग थप विस्तार गर्न सकिने उल्लेख गरेका छन् ।
उनीहरूबीच करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो भने सरकारी टोलीसहित करिब पौने घण्टा छलफल भएको थियो ।
भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।
उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानी लगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।
शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री ओली गत शनिबारदेखि चीनमा छन् ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्