सेना परिचालन, बिनाकाम बाहिर निस्कन रोक
जेन जीको आन्दोलन नियन्त्रण बाहिर गएपछी अराजकता नियन्त्रण गरी शान्ति सुरक्षा र अमनचयन कायम गर्न मंगलबार रातिबाट सेना परिचालित भएको छ ।
राजधानी काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।
सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।
आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।

अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।
अराजक गतिविधि रोक्न परिचालन भएको नेपाली सेनाले काठमाडौं र भक्तपुर क्षेत्रमा लुटपाट गर्न खोज्ने ३१ जनालाई पक्राउ गरेको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधे राधेस्थित भाटभटेनी सुपरमार्केट, हायात होटल र बौद्ध क्षेत्रमा लुटपाट गर्न खोज्ने ३१ जनालाई गएराति समातेको हो ।
वानेश्वरको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्ने पाँच जनालाई पनि नेपाली सेनाले नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ ।
सेना परिचालन पछी राजधानीको अवस्था सामान्य बनेको छ । सेनाले मध्यराति जेन जीका केही प्रतिनिधीसंग अनौपचारिक छलफल गरेको भन्ने अपुष्ट समाचार छ ।
सेनाले दिएको जानकारी अनुसार आज दिउँसो जेन जी प्रतिनिधिसंग नयाँ सरकार गठन र संकटको निकासका लागी राष्ट्रपतिसंग औपचारिक वार्ता हुने भएको छ ।
दिनभरिको प्रदर्शनपछि राति उच्छृंखल गतिवधि रोक्न सेना परिचालन गरिएको थियो ।
सेनाले उच्छृंखल गतिविधि भए हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्स एप वा भाइबरमा मेसेज पठाउन अनुरोध गरेको छ ।
टोल छिमेकमा त्यस्ता गतिविधि भए सुरक्षा संयन्त्र पुग्नु अगाडि स्थानीयले एकजुट भई स्थितिको निरन्तर निगरानी राख्न सेनाले आग्रह गरेको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्