सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चन्दले फुलि लाउन पाउलान ? आज सर्बोच्चमा बहस

प्रहरी महानिरीक्षक (आइजिपि) बढुवाबारे सर्वोच्च अदालतमा परेको रिटमाथी सुनुवाई हुँदैछ । बहसपछि मन्त्रिपरिषद्को निर्णय बिरुद्ध भएको अन्तरिम आदेशले निरन्तरता पाउने कि नपाउने भन्ने टुंगो लाग्नेछ । बहसमा दुवै पक्षले भाग लिनेछन् ।

प्रहरी महानिरीक्षक सम्बन्धी सर्वोच्च अदालतमा दुई वटा मुद्दा छन् । दुबै मुद्दालाई अदालतले एउटै बेञ्चमा राखेर सुनुवाइ गर्दैछ । डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयलाई अदालतले अल्पकालीन अन्तरिम आदेशमार्फत् रोकेर राखेको छ ।

त्यसैगरी डीआइजी नवराज सिलवालले बरियताका आधारमा आफूलाई आइजीपी बनाउने आदेश गरीपाउँ भन्दै दर्ता गरेको दोस्रो रिटमाथि पनि आजै छलफल हुँदैछ । चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारको निर्णयलाई अदालतले वैध ठहराएको अवस्थामा आइजीपी नियुक्ति प्रकरण स्वतः समाप्त हुनेछ ।

किनभने चन्दलाई सरकारले यसअघि नै नियुक्त गरिसकेको छ र उनले फुली लगाउन मात्रै बाँकी छ । तर, चन्दको नियुक्ति बदर भयो भने अदालतले कसलाई कुन प्रक्रियाबाट आइजीपी बनाउने भन्ने व्याख्या गरिदिन सक्छ र त्यसपछि नवराज सिलवाल वा अरु कसैलाई आइजीपी बनाउने बाटो खुल्न सक्छ ।

मन्त्रिपरिषदले गर्ने निर्णयलाई अदालतले कति प्रभावित पार्छ या पार्दैन भन्ने कुरा फैसलापछि मात्रै भन्न सकिन्छ । सर्वोच्चले डिआईजी जयबहादुर चन्दलाई आइजिपी बनाउने निर्णय तत्काल कार्यन्वयन नगर्न फागुन २ मा सरकारका नाममा अन्तरिम आदेश दिएको थियो ।

मन्त्रीपरिषद् वैठकले फागुन १ गते चन्दलाई आइजिपी बनाउने निर्णय गरे लगत्तै सिलवाल बरियता मिचेर निर्णय आएको भन्दै अदालत पुगेका थिए । प्रधानन्यायधीस सुशीला कार्कीको एकल इजलासले चन्दलाई आइजिपी बनाउने निर्णय यसथास्थितिमा राख्न आदेश दिएको थियो ।

प्रहरी नियमावली ०७१ को नियम ४१ विपरित बढुवा भएको रिटमा दावी थियो । चन्दलाई आइजिपि बनाउने निर्णय कार्यन्वयन नगर्न आदेश दिएपछि सरकारले प्राविधिक एआइजीलाई प्रहरीको कमान्ड दिएको छ । प्रहरी अस्पतालका प्रमुख डा.दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको हो ।

फागुन २ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी नियमावली ०७१ संशोधन गर्दै एआइजी पोखरेललाई निमित्तको जिम्मेवारे दिने निर्णय गरेको थियो । त्यस अघिको नियमावलीमा प्राविधिक तर्फका व्यक्तिलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिन नपाइने उल्लेख थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्