तेल चोरी रोक्ने निगम प्रयासमा चालकको आन्दोलन
नेपाल आयल निगमले तेल ढुवानीका क्रममा हुने चोरी रोक्न नयाँ नियम ल्याएपछी प्रतिक्रिया स्वरुप ट्यांकर चालकहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् । आयल निगमले ढुवानी बिनियमावली संशोधन गर्दै ट्यांकर चालकले देखाउने गरेको दावीयोग्य नोक्सानी (क्लेमेबल लस) लाई ढुवानी भएको कुल तेलको ०.२५ प्रतिशत मात्रै हुनुपर्ने गरी झारेको छ ।
त्यो भन्दा बढी तेल ट्याकंरबाट हराए वा चोरिएमा जरिवाना स्वरुप दोब्बर तेल वा सोही बराबरको रकम निगमलाई भुक्तानी गर्नुपर्ने ब्यवस्था गरिएको छ । अर्थात, १ लाख लिटर तेल ढुवानी गर्दा अब २५० लिटरभन्दा बढी तेल हराएमा ५ सय लिटर तेल वा सो बराबरको जरिवाना रकम भुक्तानी गर्नुपर्नेछ ।
यसअघि दाबीयोग्य नोक्सानी जति भए पनि उनीहरुले त्यसको रकम भुक्तानी गर्न पाउँथे । यही नियमका कारण असहज अवस्थामा कतिपय ट्यांकर चालकले बाटोबाटै तेल कालोबजारी गर्दै बेच्ने गरेका थिए । उनीहरुले हराए बराबरको तेलको भुक्तानी निगमलाई दिएर डिपोमा नआइपुग्दै महंगोमा तेल बेच्दा बेला–बेलामा निगमलाई तेलको आपूर्ति तथा वितरणमा असहज हुने गरेको छ ।
ट्यांकर चालकहरुले ‘क्लेमेबल लस’ बापतको तेलको रकम निगमलाई भुक्तानी गर्न तयार भएपनि नोक्सानीको सीमा तोकेर दोब्बर जरिवाना तिर्नुपर्ने गरी ल्याइएको नियम मान्य नहुने बताएका छन् । यसैको बिरोधमा ट्यांकर चालकले शुक्रबार देशभर तेलको ढुवानी रोकेका थिए । उनीहरुले अवैज्ञानिक तवरले निगमले नियम लाद्न खोजेको आरोप लगाएका छन् ।
ट्यांकर चालकहरुले निगमले निर्णय फिर्ता नलिए फागुन १५ गतेबाट तेलको ढुवानी रोक्ने चेतावनी दिएका छन् । यसैगरी निगमले अब एउटा ट्यांकरधनीसँग ५ वटा ट्यांकर हुनैपर्ने नियम ल्याएको छ । ट्यांकर चालकले यसको पनि बिरोध गरेका छन् । निगमले एउटा मात्रै ट्यांकर हुनेहरुले बढी बदमासी गरिरहेको निश्कर्ष निकाल्दै यस्तो नियम ल्याएको हो ।
निगमका एक अधिकारीले भने–‘बाटाबाटै ट्यांकर नै गायब गर्ने क्रम निकै बढ्दो छ । कालोबजारीमा तेल बेच्न यसो गरिन्छ । यस्तो काममा एउटा मात्रै ट्यांकर हुनेहरु बढी सक्रिय देखिए । त्यसैले एउटा ट्यांकर हराए अर्को ट्यांकरबाट निगमले आफ्नो नोक्सान उठाउन सकोस भनेर यो नियम ल्याइएको हो ।’
यसैगरी ट्याकंर चालकहरुले तेल ढुवानी गर्दा प्राविधिक रुपमा हुने तेलको नोक्सानीलाई पनि घटाउन माग गरेका छन् । ढुवानीका क्रममा तेल छचल्किँदा र तापक्रम फरक पर्दा हुने प्राविधिक नोक्सानी मात्र घटाउन उनीहरुको माग छ । ट्यांकर चालकले माग पूरा नभए अनिश्चितकालसम्म तेल ढुवानी रोक्ने भन्दै निगमलाई चेतावनीपत्र दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्