जापानले बनाएको विपी राजमार्ग सुनकोसीमा खस्यो
विपी राजमार्ग सडकखण्ड अन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने सडक सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९, वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो । राति ११ बजे सडक सुनकोसीमा खसेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिएका छन ।
राजमार्ग किन र कसरी भत्कियो भन्ने यसै भन्न नसकिने कार्कीको भनाइ छ । राजमार्गमा मोटरसाइकल समेत नछिर्ने गरी राजमार्गको भित्तोसहित तल भाँसिएको प्रजिअ कार्कीले बताएका छन । गएरातिदेखि राजमार्ग सम्बन्ध विच्छेद भएपछि अहिले सयौँ सवारी गन्तव्यविहीन बनेका छन् ।
विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी अलपत्र परेका छन् भने यात्रु बिचल्लीमा परेका छन् । रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा लगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हिँडेका सवारीसाधन बीच बाटोमा रोकिएका छन् ।
सिन्धुलीबाट राजधानी जाने साना तथा अन्य सवारीसाधन नजान र नलैजान सम्बन्धित व्यवसायीलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै महोत्तरी हँुदै सिन्धुली भएर राजधानी आउने सवारीसाधन नपठाउनसमेत महोत्तरीलाई जानकारी गराइएको छ ।
राति देखि सवारी आवागमन ठप्प भएको र वैकल्पिक व्यवस्था गर्न सडक विभागसँग आग्रह गरेको प्रजिअ कार्कीले बताएका छन । राजमार्ग खसे पछी वैकल्पिक सडक कतिबेला निर्माण हुन्छ यसै भन्न नसकिए पनि अलपत्र परेका सवारीसाधन तथा यात्रुलाई चाँडै गन्तव्यमा पु¥याउन लागिपरेको उनले बताएका छन ।
काठमाडौं र तराई जोड्ने छोटो बाटोका रुपमा यो सडकको प्रयोग हुँदै आएको छ । जापान सरकारको सहयोगमा केही वर्षअघि मात्रै उक्त सडक निर्माण सम्पन्न भएको होे । बाटो निर्माणका बेला भारतले यो बाटोलाई दुई लेनको बन्न नदिन दबाव दिएको थियो सोही कारण सडक साँघुरो बनेको छ ।
सरकारले यो बाटोमा ठूला गाडीहरु नचलाउन र लाइट गाडीमात्रै सञ्चालन गर्न आग्रह गर्दै आएको थियो । सडकको जग बलियोसँग नबनाइनु, भूकम्पले सडकको जग चर्किएको र सुनकोसीले बर्सातको समयमा जग खोलिदिँदा सडक भत्केको हुन सक्ने स्थानीयवासीले आँकलन गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्