‘इफ’ र ‘बट’ हुँदैन, आज ऐतिहासिक दिन हो !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि चुनाव घोषणाको कुनै विकल्प नभएको बताएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकलाई सम्वोधन गर्दै संविधान कार्यान्वयनमा आजको दिन ऐतिहासिक भएको बताएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख ३१ मा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । यस्तो निर्णय गर्ने बेलामा प्रधानमन्त्री प्रचण्ड निकै कडा रुपमा प्रस्तुत भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनावबारे अलमलको कुरा नगर्न मन्त्रीहरुलाई कडा निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री प्रचण्डले बैठकमा भने–‘कसैकसैले भूकम्प गयो भने के हुन्छ ? आकास खस्यो, पाताल भासियो भने के हुन्छ भनेर भन्छन । इफ, बट केही पनि हुँदैन । आकास खसे त्यही दिन हेरौंला, भूकम्प आए त्यही दिन हेरौला ।’
यो चुनाव नभए अर्को पनि नहुने भन्दै प्रधानमन्त्रीले चुनावको वातावरण बनाउन संसदभित्र र बाहिर सबै मन्त्रीहरुले भूमिका खेल्नुपर्ने निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रक्रिया अघि बढाउने आफ्नो प्रतिवद्धता कायमै रहेको बताए ।
सोमबार नै बसेको मन्त्रिपरिषदको अघिल्लो बैठकमा उनले मधेसी मोर्चाले चुनाव घोषणाको स्वागत गर्ने अपेक्षा गर्न नसकिने बताएका थिए । नभन्दै, साँझ मोर्चाले चुनाव घोषणाको विरोध गरेको छ ।
स्थानीय तहको संख्या बढाउने निर्णयले आफूहरुले मधेसलाई आश्वस्त पार्न खोजेको सन्देश जाने भन्दै प्रधानमन्त्रीले बैठकमा भने–‘संशोधनको कुरामा हामी पछि हटेका छैनौं र भोलिबाटै यो अघि बढ्छ ।’
भोलि फागुन १० गते व्यवस्थापिका संसदको बैठक बस्ने कार्यसूची छ । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयक पास गर्न शत प्रतिशत प्रयास गर्ने बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्