बेलुन भर्ने सिलिण्डर पड्किँदा प्रहरीको मृत्यु
सुनसरीको सिमरीया–९ स्थित शिव मन्दिर परिसरमा बेलुनमा हावा भर्ने सिलिन्डर पड्किँदा एक प्रहरीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । शुक्रबार बिहान १०ः४५ बजे मन्दिर परिसरमा सिलिण्डर पड्कीएको थियो ।
सो घटनामा गम्भीर घाइते भएका प्रहरी जवान सोमराज माझीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । मोरङ कटहरी–२ स्थायी घर भएका माझी जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थिए ।
ग्यास सिलिण्डर पड्किँदा घाइते भएका १० जनामध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । घाइतेहरु सबैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
ग्यास सिलिन्डरबाट हावा भरेर बेलुन बिक्री गर्दै आएका व्यापारीद्वय भगवान साह र राधेश्याम साहलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शिवरात्री पर्वका अवसरमा मेला भर्न र पूजा गर्न मन्दिर परिसरमा भेला भएका बेला सिलिण्डर पड्किँदा स्थानीय भयभित भएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्