सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

श्रीमान विदेश भएका ६० महिला फसाउने दलाल

फेसबुकमार्फत दर्जनौं महिलालाई ठगी गरेको आरोपमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष प्रेम कटुवाललाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको छ । कटुवालसहित अन्य तीनजनालाई काठमाडौं प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ ।

अधिकांश विवाहित तथा श्रीमान विदेशीएका महिलाहरुलाई फेसवुकबाट विदेशी नागरिकको नामबाट साथी बनाएर उपहार पठाउने नाममा ठगी गरेको खुलेपछी कटुवालसहित उनका अन्य तीनजना सहयोगीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाराजगञ्जमा ब्लु स्काई ओभरसिज नामक म्यानपावर सञ्चालन गर्दै आएका कटुवाल बल बहादुर तामाङ भन्दा पहिले बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष भएका थिए । कटुवालको नेटवर्कमा रहेका व्यक्तिहरुले करिब ६० जना महिलाबाट लाखौं ठगी गरेको पाईएको छ ।

ठगी गरेको मध्ये करिब २४ लाख नगद कटुवालको बैंक खातामा डिपोजिट गरिएको फेला परेपछि प्रहरीले उनलाई सोधपुछका लागी बोलाएको थियो । सोधपुछका क्रममा आईएमईबाट समेत आफुले रकम लिएको स्विकार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बताईएको छ ।

यसरी फसाउँथ्यो कटुवालको समुहले महिलाहरुलाई
कटुवालको नेटवर्कमा रहेका व्यक्तिहरुले विदेशीको फोटो र नाम राखेर फेसबुक अकाउन्ट खोल्थे अनि सयौंलाई फ्रेन्ड रिक्वेस्ट पठाउँथे । विदेशीले रिक्वेस्ट पठाएपछी कतिपय महिलाहरुमा कौतुहलता जाग्थ्यो र उनीहरु तत्काल ‘अक्सेप्ट’ गर्थे ।

सचेत महिलाहरुले वास्ता नगर्ने भएपनि श्रीमान् विदेशिएका, श्रिमान नेपालमै भएपनि समुहमा बसेर काम गर्ने तथा आफ्नै ढंगले दुई–चार लाख पैसा चलाउन सक्नेहरु क्युरियस हुन्थे र विदेशीसँग च्याट गर्न थालिहाल्थे ।

च्याट गर्दै जाँदा महिलाहरुको मन जितेपछी ‘तपाईं त कस्तो ब्युटिफुल हुनुहुँदो रहेछ, अष्ट्रेलियाको गिफ्ट पठाईदिन्छु’ भन्दै ती नक्कली विदेशीहरु महिलालाई फुरुक्क पार्ने गर्दथे ।

च्याटिङ हुन थालेको तेस्रो दिन दिल्लीबाट फोन गरेर तपाईको नाममा गिफ्ट आएको छ सामान धेरै रहेछ भन्दै महिलाहरुलाई अझै उत्सुक गराए पछि गिफ्ट हात पार्न कर बापत केही पैसा जम्मा गर्नुपर्ने शर्त राखेर उनीहरुलाई ठग्ने गरेको बताईएको छ ।

जापान, अष्ट्रेलिया जस्ता मुलुकबाट गिफ्टको पार्सल आएको भन्दै गिफ्ट हात पार्न सुरुमा केही हजार माग्ने यो समुहले डलरको ट्याक्स रकम इन्डियन रिजर्भ बैंकमा जम्मा गर्नुपर्ने शर्त राखेर नेपालकै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन आग्रह गर्ने गरेको थियो ।

ठगी गर्ने समुहले पैसा पठाउनका लागी दिइने नाम र बैंक खाता कटुवालको पनि थियो । प्रारम्भिक अनुसन्धानको क्रममा कटुवालले त्यस्ता महिलाहरुबाट २४ लाख भन्दा बढी रकम बुझेको खुलेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS