सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बुढीगण्डकी प्रभावित एकै घरलाई ४ करोड मुआब्जा

घ्याल्चोक गाविसका १२ र दर्बुङका २० जना जग्गाधनीको मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखामा जम्मा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन । पहिलो चरणमा मुआब्जाबापत ४ करोड ७२ लाख ७८ हजार ५ सय २१ रुपैयाँ प्रभावितहरूलाई वितरण गरिएको हो ।

शर्माले भने–‘एकजना जग्गाधनीले एक लाखदेखि ८० लाखसम्म पाएका छन । आयोजना विकास समितिको नाममा जग्गा पास भएपछि जग्गाधनीलाई रकम भुक्तानी दिने गरेका छौं ।’ जिल्लाका १४ वटै प्रभावित गाविसमा मुआब्जा वितरण गर्दा एउटै जग्गाधनीले ४ करोडसम्म रकम हात पार्नेछन् ।

प्रभावितलाई मुआब्जा रकम दिएसँगै जग्गा मालपोत कार्यालयबाट आयोजनाको नाममा नामसारी गरिएको छ । डुबानमा पर्ने अन्य जग्गाको रुजु गर्दै मुआब्जा वितरणलाई निरन्तरता दिने सहायक प्रजिअ शर्माले बताएका छन ।

प्रभावितलाई मुआब्जा रकम दिन वाणिज्य बैंकमा शून्य मौज्दातमा खाता खोलिएको छ । उनले भने–‘प्रक्रिया पूरा गरेर आयोजनाले जग्गाधनीका व्यक्तिगत खातामा रकम जम्मा गरिदिन्छ, खातामा गएको रकम उनीहरूले झिकेर चलाउन पाउँछन ।’

गोरखातर्फ पहिलो चरणमा घ्याल्चोक, भुम्लीचोक र दर्बुङ गाविसका प्रभावितलाई मुआब्जाको रकम दिइने प्रजिअ जितेन्द्र बस्नेतले बताए । मुआब्जाका लागि ७ सयले निवेदन दिएका छन् । जग्गाको अवस्था मालपोत कार्यालयमा बुझेर प्रभावितलाई तोकिएको दररेटमा मुआब्जा उपलब्ध हुने प्रजिअ बस्नेतले बताए ।

पहिलो चरणमा करिब ४ हजार रोपनी जग्गाधनीले मुआब्जा पाउने प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिएका छन । सरकारले बुढिगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्न जिल्ला प्रशासनको खातामा २ अर्ब ५० करोड रुपैयाँ निकासा पठाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्