सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समर्थन फिर्ता लिँदै मोर्चा, बच्ला त प्रचण्ड सरकार ?

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा आपत्ति जनाउँदै आएको मोर्चाले अब सरकारसँग सम्बन्ध बिच्छेद गर्ने गरी आन्तरिक छलफलमा जुटेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा शनिवार बसेको मोर्चाको सचिवालय बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन सरकार गम्भिर नदेखिएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने तयारीमा लागेको हो ।

बैठकपछि तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष बृषेशचन्द्र लालले समर्थन फिर्ता लिने तयारी भइरहेको जानकारी दिएका छन । उनले स्थानीय तहको संख्या समेत निर्धारण नगरी सरकार निर्वाचनमा गएकाले आफूहरु आन्दोलनमा जान बाध्य भएको बताएका छन ।

मोर्चाले अब बस्ने बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरे लगत्तै मोर्चाले तराईका जिल्लाहरुमा आगामी २४ गतेसम्म भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्