धुम्बाराहीबाट कुर्लिए ओली, ‘चुनाव हामी जित्छौँ’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी भएर चुनावमा जाने आफ्नो पार्टीको चाहना नरहेको प्रष्ट पारेका छन् । ओलीले एमाले प्रतिपक्षमै बसेर चुनाव जित्ने तयारीमा रहेको बताएका छन ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार मेची–महाकाली अभियानमा सहभागी हुने करीव १ हजार स्वयंसेवकका लागि आयोजित विशेष प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले सरकारमा जाने रुचि एमालेलाई नरहेको दावी गरेका हुन ।
भेलालाई सम्बोधन गर्दै ओलीले भने–‘हामी सरकारमा होइन, प्रतिपक्षमै बसेर चुनाव लड्न चाहान्छौं र जित्छौं । सरकारमा भएकाहरुले पुलिस प्रशासन लगाएर चुनाव जितौंला भन्ने सोचेका होलान् तर, यिनीहरु बेइमान हुन् भन्ने पुलिस प्रशासनका सबैलाई थाहा छ । आदेश आउँदा हस् साब भन्छन् तर, बेइमानले भनेको मान्दैनन् ।’
फागुन २१ देखि शुरु गर्न लागेको मेची महाकाली तराई मधेस अभियानले हिमाल, पहाड र तराईबीच भवनात्मक एकता गराउने दाबी एमाले नेताहरुले गरेका छन् । साथै अभियानमा लाखौं मधेसी जनता परिचालन हुने दाबी गरेका छन ।
भेलामा बोल्दै एमाले नेताहरुले एमालेलाई मधेस विरोधी भनेर प्रचार गर्नेहरुलाई मधेसकै बस्तीमा पुगेर जवाफ दिइने बताएका छन । अध्यक्ष ओलीले मधेस अभियानमा लाखौं जनता सहभागी हुने भन्दै यो अभियानको फोटो खिच्न ड्रोन र स्याटेलाइटले मात्र सम्भव हुने दोर्होयाएका छन् ।
अध्यक्ष ओलीले भने–‘एमालेको यो अभियान मधेस, पहाड र हिमालको जनसागर हुनेछ । यसको फोटो खिच्न कुनै अग्लो घरको छतबाट क्यामेरा सोझ्याउँदैमा सकिँदैन । स्याटेलाईट र ड्रोनले मात्र सम्भव हुनेछ । हामी देखाउनेछौं मधेसी जनता र मधेसमा एमाले कति लोकप्रिय छ भन्ने ।’
भेलालाई सम्बोधन गर्ने क्रममा एमाले सचिव भट्टराईले पृथ्वीनारायण शाहले गर्न बाँकी रहेको मुलुकको भावनात्मक एकीकरण एमालेले गर्ने दाबी गरेका छन । उनले भने–‘पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण मात्र गरे भन्नेहरुलाई एमालेले यो अभियानबाट देखाउनेछ, मुलुकको भावनात्मक एकीकरण एमालेले गर्नेछ ।’
एमालेको यो अभियानमा एक हजार पूर्णकालीन स्वयंसेवक खटिनेछन् । उनीहरुलाई केन्द्रीय कार्यालयमा अभियानका क्रममा पालना गर्नुपर्ने नियमहरुको बारेमा विशेष प्रशिक्षण दिइएको एमाले मुख्यालयले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्