सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जोखिममा पशुपतिनाथ, खाल्डो बन्दै मन्दिरमुनी

हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं लिटर पानी पूर्वीढोका हुँदै ब्रह्मनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकाले बीचमा चुहिएर खाल्डो पर्न थालेको हो ।

माटो र बालुवाको पत्र रहेको मन्दिरमुनिको भाग पानीले गाल्दै लगेको र अनगिन्ती ठूला मुसाले आउने–जाने बाटो बनाएको पाइएको छ । इन्जिनियरिङ जियोलोजिस्ट रञ्जनकुमार दाहालले मन्दिरमा प्रयोग हुने पानी ब्रह्मनाल भएर बागमती नदीमा जाँदा ठाउँठाउँबाट चुहिँदै जाने गरेको जानकारी दिए ।

पाशुपत क्षेत्रको बृहत् गुरुयोजना बनाउन पशुपति क्षेत्र विकास कोषले विभिन्न विषय र क्षेत्रको कार्यपत्र पेस र छलफल गराउने क्रममा सोमबार दाहालले भने, ‘केही पटक मैले त्यहाँ पुगेर हेरेको छु । तस्बिर खिच्न नमिलेर मात्र हो । नत्र प्रमाण देखाउन सक्छु ।’

उनले छलफल क्रममा भने–‘त्यसरी चुहिएर जाने पानीले माटो गलाएको कसैलाई थाहा नहुन सक्छ । बलौटे माटो पनि भएकाले क्रमशः थोरै मात्रामा बगे (क्रिप) पनि आसपासमा पर्खाल भएकाले ठूलो असर नदेखिएको हो ।’

कोष कर्मचारीका अनुसार ढुंगाको डुँडजस्तो आकारबाट मन्दिरको पानी ब्रह्मनाल हुँदै नदीमा जाने गरेको छ । दाहालले बागमती नदीपूर्वको आरती गर्ने भाग श्लेषमान्तक वनको भागदेखिकै माटो गलेर रहेकाले समस्या आउन सक्ने पनि बताएका छन ।

पाशुपत क्षेत्रको गहिरो अध्ययन गरेका आर्किटेक्ट सुदर्शनराज तिवारीले ब्रह्मनालको पानी बीचैबाट माटोमा पर्ने गरेकाले माटो गल्ने र बालुवासमेत भएकाले बगाउने गरेको बताएका छन । उनले भने–‘खासगरी वासुकीनाथ मन्दिरदेखि पूर्वी ढोका हुँदै जाने भाग बढी धसिने सम्भावना छ । पानी जाने ढुंगाको डुँडका लागि अड्याउन राखिएका काठका थाम कुहिसकेका छन् ।’
पशुपतिनाथ मन्दिर व्यवस्थापन महाशाखाका प्रमुख भोलाप्रसाद सिटौलाले मन्दिर परिसरमा पानी बगाउन ह्युमपाइप हालेको जानकारी दिए । उनले भने–‘यस्तै सम्भावना बुझेर गत वर्ष भारतीय आर्किटेक्ट मार्फत अनुसन्धान र काम गर्न खोज्दा हस्तक्षेप भयो भन्ने गुनासोले काम रोकिएको थियो । तर तत्काल जसरी पनि मन्दिरमुनिको भागको अध्ययन अनुसन्धान जरुरी भएको ठहर कोषले गरेको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS