सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मृतकको संख्या; मोर्चाको दाबी ७, गृह भन्छ तीन

सप्तरीको राजबिराजमा एमाले जनसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या ७ पुगेको मधेसी मोर्चाले दाबी गरेको छ । सप्तरी स्थित मोर्चाका एक स्थानिय नेताले प्रहरीको गोली लागेर ७ जना मोर्चाका कार्यकर्ता मारीएको दावी गरेका हुन ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागी संजन मेहता, दिगम्बर यादव, पिताम्बर मण्डल, आनन्दप्रसाद साह, अजय साह, अवधेश ठाकुर र नाम नखुलेका एक जनाको मृत्यु भएको ती स्थानीय नेताको दाबी छ । गृह मन्त्रालयले भने अहिलेसम्म झडपमा परी ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने १५ प्रहरी घाईते भएको जनाएको छ ।

झडपमा कति जनाको ज्यान गएको थियो भन्ने आधिकारीक विवरण भने प्रहरी छानबिनपछी मात्रै पत्ता लाग्ने छ । केही अनलाईन मिडियाले मृतक भनिएका संजन मेहता गायव भएको भनेर सप्तरीका प्रमुख जिल्ला अधिकारीको कोड सहितको समाचार हालेका छन ।

एमालेको मेची–महाकाली अभियान अन्र्तगत राजविराजमा भएको सभा विथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ताले गुलेली र पेट्रोल बमले आक्रमण गर्न थालेपछी प्रहरीको भनाईमा–‘सुरक्षाकर्मीले आत्मरक्षाका लागी चलाएको गोली लागी मधेसी मोर्चाका कार्यकताको मृत्यु भएको हो ।’

सुरक्षाकर्मीले मोर्चाका कार्यकर्तालाई रोक्न लाठी प्रहार, दुई समय भन्दा बढि सेल अश्रुग्याँस र सयौँ हवाई फायर र रबरको गोली प्रहार गरेको थियो । सुरक्षाका सबै उपाय अबलम्बन गर्दा पनि मोर्चाका कार्यकर्ता उग्र बन्दै गएपछी स्थिति नियन्त्रणमा लिन बाध्य भएर गोली चलाउनु परेको सुरक्षाकर्मीको भनाई छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ–४ का २० वर्षीय संजन मेहताको घटनास्थलमै मृत्यु भएको थियो । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर टाउकोमा गोली लागेको थियो । अन्य मृतकको भने उपचारको क्रममा लैजाँदै गर्दा र उपचारका क्रममा मृत्यु भएको हो ।

सप्तरीको लिमनका दिगम्बर झा र मलेठ–४ का पिताम्बर मण्डलको पनि गोली लागेर मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको उपचारका लागी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

पिताम्बर मण्डलको भने धरान पुर्याए लगतै निधन भएको थियो । गोली लागी घाईते भएका प्रसवनीका आनन्दप्रसाद साह र अन्य मृतक भनिएकाको भने उपचारको क्रममा मृत्यु भएको भनिएको छ । घाईतेहरुको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

गोलीकाण्डको घटना लगत्तै आकस्मिक बैठक बसेर एमालेले आफ्नो मेची–महाकाली अभियान तीन दिनका लागी स्थगित गरेको छ । त्यसैगरी मधेसी मोर्चाले २४ र २५ गते मधेष बन्दको घोषणा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्