सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मृत भनिएका दिगम्बर अस्पतालमा उपचार गराउँदै

सप्तरीको राजविराजमा सोमबार भएको झडपमा मृत भनिएका दिगम्बर यादव जीवितै रहेको पुष्टि भएको छ । घटनामा तीन जनाको मात्रै मृत्यु भएको पुष्टि भएको छ । सप्तरीको राजविराजमा सोमबार भएको घटनालगत्तै मधेसी मोर्चाले चार जनाको मृत्यु भएको विज्ञप्ति निकालेको थियो ।

मोर्चाले मृतक भनि निकालेको विज्ञप्तीमा दिगम्बरको नाम दोस्रो नम्बरमै थियो । मोर्चाका नेताहरुले घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको र अर्का एकजनाको घोषणामात्रै हुन बाँकी रहेको बताएका थिए ।

मोर्चाले विज्ञप्तिमा छोरा मृतकको सूचीमा देखेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका उनका पिता रामपुज यतिबेला झसंग भए, जतिबेला उनको छोराको उपचार भइरहेको थियो ।

दिगम्बरको ढाडमा एउटा गोली लागेको छ । सर्जरी वार्डमा राखेर उपचार गराइएका दिगम्बर राम्ररी बोल्न र घटनाबारे बताउन सक्ने अवस्थामा रहेको पिता रामपुजले बताएका छन । दिगम्बर पेशाले वकिल हुन् । उनी नेपाल बार एसोसिएसन सप्तरीका कोषाध्यक्ष समेत हुन् ।

दिगम्बरले आफू आन्दोलनमा गएको नभई हेर्नमात्र गएको बताएका छन । दिगम्बरले भने–‘एक किलोमिटर टाढा बसेर हेरिरहेको थिएँ, तर गोली लाग्यो ।’ धरानमा दिगम्बरसहित जीतेन्द्रकुमार महतो, इन्द्र यादव, दिलिप यादव, सुरेन्द्रकुमार साह, जीतेन्द्र साह र एमाले कार्यकर्ता धनपती पाठकको उपचार भइरहेको छ ।

उपचार गराईरहेका घाईतेमध्ये इन्द्र यादवको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन । सोमबार सुरक्षाकर्मीको गोली लागेर सञ्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो । राजविराजमा पान पसल गर्दै आएका मेहता ६ महिना अघि मात्रै वैदेशिक रोजगारीबाट फर्केका हुन ।

यसैगरी, गोली लागेर घाइते भएका पिताम्बरलाल मण्डल र आनन्द साहको बिपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । धरानमा उपचारका लागि लगिएका लक्ष्मण यादव, दिनेश साह, जक्कु साह, अरुणकुमार यादव, पशुपति यादव र विरेन्द्र कुमार यादव तथा प्रहरीहरु रमेश मंग्राती र रञ्जीत सिंह भने उपचारपछि डिस्चार्ज भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्