सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीय एसएसबिले गोली हानि मार्यो एक नेपाली

कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।

गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा र्पुयाइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।

आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ । एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए । त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो ।

आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।

यो विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए । भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् ।

उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् । लगत्तै एसएसबीका जवानहरु नेपालतर्फ आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव बढेको थियो । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।

नेपालीहरुले एसएसवीको ज्यादतीको विरोध गर्न थालेपछि एसएसवीले भारतीय भुमिबाट अन्धाधुन्ध गोली प्रहार गर्दा अरु एक दर्जन नेपालीहरु घाइते भएको कन्चनपुरका प्रहरी प्रमुख प्रकाश बहादुर चन्दले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्