राप्रपा सरकारमा, थापा उपप्रधान, दिलनाथ पर्यटनमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाबाट कमल थापाको नेतृत्वमा उपप्रधान सहित तीन मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । मधेसी मोर्चाले ७ दिनभित्र संविधान संशोधन र स्थानीय चुनाव स्थगित नभए स्वतः समर्थन फिर्ता हुने घोषणा गरे लगतै राप्रपाले सरकारमा थप मन्त्री पठाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा विस्तारीत मन्त्रिपरिषदका उपप्रधान एवं स्थानीय विकास मन्त्री नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतक दिलनाथ गिरीलाई संस्कृति, पर्यटन तथा नायरिक उड्ययन मन्त्री नियुक्त गरिएको छ ।
थापा र गिरीले बिहीबार नै राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् । राप्रपाबाट राज्यमन्त्रीमा सिफारिस भएका परशुराम तामाङले शुक्रबार सपथ लिने कार्यक्रम छ । राप्रपा र राप्रपा नेपालबीच एकता हुनु अघि नै राप्रपाबाटै दीपक बोहोरा आपूर्ति र विक्रम पाण्डे भूमिसुधार मन्त्री छन् ।
राप्रपाबाट मन्त्री थप्नु अघि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले पार्टी नेता हितराज पाण्डेलाई स्थानीय विकास मन्त्रीबाट फिर्ता गराएका छन । पाण्डेलाई पशुपंक्षी विकासमन्त्री बन्न प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका छन् ।
स्थानीय विकास राज्यमन्त्री रहेका श्रीप्रसाद जबेगुबारे भने नयाँ निर्णय भएको छैन । यस्तै मन्त्रीद्वय जीवनबहादुर शाही र प्रेमबहादुर सिंहको पनि मन्त्रालय हेरफेर भएको छ । शाहीले सम्हाल्दै आएको पर्यटन मन्त्रालय राप्रपाबाट मन्त्री भएका गिरीले लिएका छन् ।
कांग्रेस नेता शाहीलाई भने प्रेमबहादुर सिंहले सम्हाल्दै आएको खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंहले भने प्रधानमन्त्रीसँग रहेको विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मन्त्रिपरिषद विस्तारसँगै दाहाल सरकार ४४ सदस्यीय भएको छ । अब प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री भएका छन् । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा छन् । तेस्रा उपप्रधानमन्त्री कमल थापा भएका छन । यस्तै २६ मन्त्री छन् भने १५ रान्यमन्त्री छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्