जाजरकोट दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो
जाजरकोटको भेरीमालिका नगरपालिका–४, बोहरागाउँ नजिकै भीरबाट बस खस्दा २४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ घाइते भएका छन् । घाइतेमध्ये २८ जनाको अवस्था गम्भीर छ । सामान्य घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते २८ जनालाई रुकुमको चौरजहारी विमास्थलबाट नेपाली सेनाको हेलिकप्टरद्वारा थप उपचारका लागि नेपालगंज लगिएको छ । मृत्यु हुनेमा ५ महिला र १९ पुरुष रहेका छन् । बस दुर्घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो भने ७ जनाको जाजरकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बस दुर्घटनामा लहँ–४ का रामबहादुर बस्नेत, भेरीमालिका–४, बोहरागाउँका नवीन चन्द, गणेश बोहरा, ११ का गोपाल सुनार, शर्मिला सुनार, १० का सन्तोष राना, १२ का बहादुर भनारी, ३ का सन्त सुनार, १३ का हिउसा गिरी रहेका छन ।
त्यसैगरी साल्मा–५ का नन्दलाल जैसी, सीमा–९ का मदन पुन, मजकोट–७ का दले तिरुवा, दशेरा–२ का मनीराम जैसी, १ का दिलबहादुर बुढा, चौरीजहारी–४, रुकुमका कृष्ण गिरी, सुईकोट सल्यानका उदय बुढा लगायत २४ को मृत्यु भएको हो ।
गम्भीर घाइतेलाई उपचारको लागि जिल्ला बाहिर नलिँदा घाइतेका आफन्त आक्रोसित बनेका छन् । सम्बन्धित निकायले हेलिकप्टर पठाउन ढिला गरेकोले गम्भीर घाइतेको जाजरकोट अस्पतालमा मृत्यु भएको स्थानीयको गुनासो छ ।
गम्भीर घाइतेलाई हेलिकप्टरद्वारा उपचारका लागि नेपालगंजतर्फ लैजाने भने पनि बिहीबार राति १० बजेसम्म हेलिकप्टर नआएको स्थानीय अमरजंग शाहीले बताएका छन । घाईतेको उपचारमा बेवास्था गरिएको स्थानीयको भनाई छ ।
सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिम खाराबजारतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु–जाजरकोट सडकको बोहरागाउँ धनगारेडाँडा मोडबाट २ सय मिटर तल पासागाड खोलामा खसेको हो ।
खलंगाबाट दिउँसो ४ बजे साल्माको खारा बजारका लागि छुटेको भेरीगंगा यातायात व्यवसायी समितिको उक्त बसमा ६१ यात्रु सवार भएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलोमिटरको दूरीमा रहेको छ ।
घटनामा २४ को मृत्यु भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताएका छन । गम्भीर घाइतेहरुको अवस्था चिन्ताजनक भएको उनले बताए । जाजरकोट अस्पतालमा उपचार नहुने भएपछि गम्भीर घाइतेलाई थप उपचारका लागि बाहिर लगिएको उनले बताए । मृतक र घाइते धेरैको सनाखत हुन नसकेको प्रनाउ रिमालले बताए ।
नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीय लगायतले घाईतेको उद्धार गरेका थिए । क्षमताभन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीव्रगतिमा गुडेको गाडी चालकको नियन्त्रण बाहिर जानु दुर्घटनाको प्रमुख कारण भएको प्रनाउ रिमालले बताएका छन ।
बस दुर्घटनामा चालकको लापरबाही भएको प्रहरीको भनाई छ । यसअघि २०७० सालमा छिन्चु जाजरकोट सडक खण्डको रावतगाउ नजिकै भेरी नदीमा बस खस्दा पनि ५४ को ज्यान गएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्