केन्या बिरुद्धको शानदार जितका लागी शरदको छक्का
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्र्तगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले हराएको हो ।
एकदिवसीय क्रिकेटमा केन्यामाथि नेपालको यो पहिलो विजय हो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेलेका थिए । उनले ९३ बलमा १ छक्का र चौकासहित ६४ रन बनाए । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिएका थिए ।
आफ्नो दोस्रो म्याचमै महत्वपूर्ण अर्धशतक हानेका दिपेन्द्रले ६६ बलमा ८ चौका र १ छक्कासहित ६२ रन बनाएका थिए । सुरुवाती दुई विकेट सस्तैमा खसेपछि नेपाल दवावमा आएको थियो । ओपनर सुनील धमला र तेस्रो नम्बरमा आएका सागर पुन क्रमशः १ र ५ रनमा आउट भए । तर त्यसपछि ज्ञानेन्द्र र दिपेन्द्रले नेपालको इनिङ सम्हाले ।
दिपेन्द्र आउट हुँदा नेपाललाई जितका लागि केवल ३१ रनको आवश्यकता थियो । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले केवल ११ बलमा २४ रन बनाए । उनले ३० ओभरको पहिलो बलमा चौका र दोस्रोमा छक्का हान्दै नेपाललाई जिताएका थिए ।
अन्तिम ओभरहरुमा नेपालले चौका र छक्काको वर्षा गरेको थियो । ‘गेम फिनिसर’का रूपमा परिचित शरदले आज पनि त्यही भूमिका निभाए । केन्याका बलहरुमा ओटिनोले दुई विकेट लिए भने ओबुवाले एक विकेट लिए । अन्य बलरहरु विकेटविहिन रहे ।
यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्टटाइम स्पिनर शरद भेषवाकरले चार विकेट लिएर केन्याको इनिङ धराशयी बनाएका थिए । उनले ७.१ ओभरमा २८ रन दिएका थिए ।
मेहेबुब आलमले सनसनीपूर्ण बलिङ गर्दै सात ओभरमा पाँच मेडन राखेर दुई विकेट लिएका थिए । उनको बलिङमा केन्याका ब्याट्सम्यानले केवल ११ रन बटुल्न सफल भएका थिए । यसैगरी स्पिनर बसन्त रेग्मीले पनि दुई विकेट लिन सफल भए भने सागर पुन र सन्दिप लामिछानेको खातामा एक–एक विकेट रह्यो ।
मेहेबुबले सुरुमै दुई विकेट लिएपछि केन्या दवावमा आएको थियो । तर करिम र ओबुयाले चौथो विकेटका लागि ७९ रनको पार्टनरसिप गर्दै केन्यालाई खेलमा फर्काएका थिए । सन्दिप लामिछानेले सो पार्टनरसिप तोडेपछि केन्याले म्याचमा आफ्नो पकड गुमाउँदै गयो ।
म्याचमा नेपालका स्पिनरहरु पूर्णरुपमा केन्याका ब्याट्सम्यानहरुमाथि हावी भएका थिए । यो जितसँगै नेपालले च्याम्पियनसीपको शिर्ष चार स्थानमा पुग्ने सम्भावनालाई गणितीय रुपमा जिवित राखेको छ । अब नेपालले हङकङ र यूएइसँग खेल्न बाँकी छ । नेपालले घरेलु मैदानमा खेल्ने यो अन्तिम म्याच थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्