सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमालेलाई कालो टालो हेर्ने फुर्सद छैन; केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातीय राजनितिलाई समाज बिखण्डनको बिषको संज्ञा दिँदै चर्को आलोचना गरेका छन । मेची–महाकाली अभियानका क्रममा नेपालगंजको चारकाँदोमा भएको जनसभालाई सम्बोधन गर्दै ओलीले साम्प्रदायीकता भड्काउने जातीवादी राजनिति नेपाली जनतालाई स्वीकार्य नहुने बताएका छन ।

सभालाई सम्वोधन गर्दै ओलीले भने–‘कबिला–कबिलाका वीचमा, जातीय झुण्डका वीचमा मारकाट मच्चाएर रुवाण्डाले अब ती कुरा मानेन । संविधानमै यो जातिपातिका कुरा हानीकारक रहेछ भनेर हटायो । रुवाण्डाको जातिवादलाई पोको पारेर यहाँ ल्याएर फिँजाउन खोजिएको छ । रुवाण्डामा असफल भएको विषको पोको यहाँ फिँजाइए पनि त्यसलाई नेपाली जनताले असफल पारेका छन् । हाम्रो पार्टी नेपाली जनतालाई धन्यवाद भन्न चाहन्छ । साम्प्रदायिक विद्वेष चल्न सकेन ।’

जातीय द्वन्द्वमा फसेको देशको चरित्र चित्रण गर्दै ओलीले भने–‘गञ्जी लगाउने कपडा छैन, कट्टु फाटेको छ, तर एके ४७ र गोली चाहिँ चाहिएजति नयाँ नयाँ आएको छ । त्यसरी जनता लडाए त्यहाँ (रुवाण्डा)। चार महिनाका बीचमा १० लाख मान्छे मारिए ।’

आफूमाथि मोर्चाबाट लागेको आरोपको खण्डन गर्दै ओलीले मञ्चबाट यसो भने–‘एमाले अध्यक्ष केपी ओलीले हामीलाई युपी जाउ, बिहार जाउ भन्यो भनेर हल्ला फिँजाइरहेका छन् । कहिले भन्यो ? कहाँ भन्यो केपी ओलीले युपी बिहार जाउ भनेर ? भनिएको छैन । तर, उनीहरु कुनै सही कुरा लिएर जनतामा जान सक्दैनन् । यो गर्छौं भन्ने उनीहरुको ठाउँ छैन । र, उनीहरु भन्छन् बिहार जाऊ, युपी जाउ, भन्यो भनेर । भन्नै पर्दैन, उनीहरु गइरहेकै छन् । हप्ता पन्ध्र दिनमा कता–कता आउने जाने गरेकै छन, किन भनिरहनुर्पयो ?’

मधेसी मोर्चाका कार्यकर्ताले देखाएको कालो झण्डाबारे कटाक्ष गर्दै अध्यक्ष ओलीले भने–‘जहाँ जहाँ एमाले पुग्छ, त्यहाँ एउटा कपडाको टालो झुण्ड्याउँछन् । उनीहरु घरैदेखि त्यो कपडा च्यात्दा पनि हेरिराख्या छन् । भाटामा टाङदा पनि हेरिराखेका छन् । उनीहरुले हेरेका हेर्यै छन् त्यो कालो झण्डा । एमालेलाई काला झण्डा हेर्ने फुर्सद छैन । एमाले राता झण्डा लिएर हिँडेको छ । एमाले सूर्य चिन्ह लिएर हिँड्या छ । एमाले सूर्य चिन्ह लिएर देशलाई नै उज्यालो पार्न हिँडेको छ ।’

एमाले अध्यक्ष ओलीले मधेसी मोर्चालाई शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गरेका छन् । एमालेलाई जसरी पनि रोक्नुपर्छ भन्ने मानसिकताबाट मोर्चा मुक्त हुनुपर्ने उनको भनाइ थियो । ओलीले भने–‘मधेसी मोर्चाले केही वर्षभित्र दुई सय मान्छे मरायो र हालै सप्तरीमा पाँचजना मान्छे मरायो । मान्छे मराएर उसले लासमाथि राजनीति गर्न खोजिरहेको छ । यो सिलसिला बन्द गर्नुस । शान्तिपूर्ण बाटोमा आउनुस् । अरुको काँधमा चढेर नहिँड्नुस् ।’

कसैले एमालेलाई जनताको बीचमा जानबाट रोक्न खोजे त्यसलाई चिरेर एमाले अघि बढ्ने अध्यक्ष ओलीले बताए । एमालेलाई मधेसविरोधी, जनजाति विरोधि, महिलाविरोधि र जे–जे भेटिन्छ, त्यहीत्यही विरोधी पार्टीका रुपमा प्रचारित गर्ने गरिएको भन्दै उनले प्रश्न गरे–‘जनताको पक्षमा लडिरहेको, देश बनाउन हिँडिरहेको पार्टी कसरी जनताको विरोधी हुन्छ ?’

ओलीले हाल जारी भएको संविधानले कसैलाई पनि भेदभाव नगरेको दाबी गरेका छन । सम्बोधनका क्रममा ओलीले भने–‘चाहिएको बेला यही संविधानअनुसार भोट हाल्न आउने अनि फेरि बाहिर गएर संविधान मान्दैनौं भन्दै उफ्रिने कुन शैली हो ?’

फेसबुकबाट कमेन्ट गर्नुहोस्