नेपालमा १४ हजार विदेशी कामदार, धेरै चिनियाँ
नेपाली युवा अवसरको खोजीमा विदेश गइरहेका बेला नेपालमै श्रम स्वीकृत लिएर काम गर्ने विदेशी कामदारको संख्या करिब १४ हजार पुगेको छ । श्रम विभागको गैर नेपाली व्यवस्थापन शाखाले हालसम्म करिब १४ हजार विदेशी कामदारलाई श्रम स्वीकृत दिएको पाइएको छ ।
सो शाखाका अनुसार सबै भन्दा बढी श्रम स्वीकृति लिने विदेशी कामदारमा चिनियाँ नागरिक धेरै छन् । करिब पाँच हजार चिनियाँ नागरिकले श्रम स्वीकृति लिएर नेपालमा काम गरिरहेका छन् ।
‘नेपालमा धेरै चिनियाँले श्रम स्वीकृति लिएर काम गरिरहेका छन’, श्रम विभागका निमित्त महानिर्देशक बरुणकुमार झाले भने, ‘नेपालका जलबिद्युत आयोजनामा चिनियाँ कामदार बढी छन् । आयोजनाहरुमा उनीहरुको टेण्डर परेको हुन्छ त्यसकारणले गर्दा पनि उनीहरुका कामदार नेपालमा बढी हुन्छन् ।’
तामाकोशी, त्रिशूली, मादी, मस्याङदी, मेलम्ची आयोजनामा चिनियाँ कामदार काम गर्छन । नेपालमा चिनियाँ लगानीमा आएको बृद्धिसँगै कामदारको संख्या पनि बढिरहेको छ । विभागका अनुसार तारे होटल, बैंक र ठूला कम्पनीमा भारतका करिब दुई सय जनाले श्रम स्वीकृति लिएर काम गरिरहेका छन् ।
श्रम स्वीकृति दिनका लागि श्रम विभागले सोमबार र शुक्रबार उनीसँग अन्र्तवार्ता लिने गर्छ । विभागका एक अधिकारीका अनुसार निमित्त महानिर्देशक झाले भारतीय र चिनियालाई श्रम स्वीकृति दिँदा विभेद गर्ने गरेका छन् ।
‘भारतीयलाई नजिक र चिनियाँलाई टाढाको व्यवहार देखाउने गर्नुहुन्छ’ झा प्रति लक्षित गर्दै ती अधिकारीले भने । झाले भने आफूबाट त्यस्तो विभेद नरहेको दाबी गरेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्