माफी त परै जाओस, गल्ती समेत स्वीकार्दैन भारत
भारतले कञ्चनपुरको आनन्दबजारमा एसएसबीको गोली लागी नेपाली नागरीक गोविन्द गौतमको ज्यान गएको घटनालाई दुखद र अपसोचपूर्ण भनेको छ तर, अझै पनि माफी माग्ने कुरा त पर जाओस, गल्ती समेत स्वीकार गरेको छैन ।
भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुश्मा स्वराजसँग भएको छुट्टाछुट्टै भेटमा कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर नेपाली नागरिकको मृृत्यु भएको घटनाबारे ध्यानाकर्षण गराएका छन् ।
राजनाथ सिंह र स्वराज दुबैले कञ्चनपुर घटना अपसोचपूर्ण घटना भन्दै निर्दोष व्यक्तिको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । तर, भारतीय पक्षबाट गल्ती भएको स्वीकार भएको छैन । बिहीबार विहान भएको भेटमा भारतीय गृहमन्त्री सिंहले गौमतको फरेन्सिक रिपोर्ट मागेका थिए ।
अपराहृन निधिले भारतीय विदेशमन्त्री स्वराजलाई भेट्दा नेपाल प्रहरीको ल्यावबाट फरेन्सिक रिपोर्ट आइसकेको थियो । जसमा गौतमको शरीरमा भेटिएको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हातहतियारमा प्रयोग हुने नगरेकाले गोली एसएसबीले हानेको ठहर गरिएको छ ।
यो रिपोर्ट बिहीबार नै गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौंस्थित भारतीय दूताबासलाई दिएको छ । गृहमन्त्री निधिले पोष्टमार्टम र फरेसिन्क रिपोर्ट अनुसार गौतमको मृत्यु भारतीय सुरक्षाकर्मीबाट भएको पुष्टि भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।
जवाफमा भारतीय विदेशमन्त्री स्वराजले अनुसन्धानमा नेपाल सरकारको पनि सहयोग हुनुपर्ने भन्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको निधिको निजी सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री निधि र बिदेशमन्त्री स्वराजले भबिष्यमा यस्ता घटना दोहोरिन नहुनेमा जोड दिएका छन् ।
भारतीय हस्तक्षेपविरुद्ध उत्रिएका नेपालीहरुमाथि फागुन २६ मा एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतमको निधन भएको थियो । यो घटनामा भारतीय सुरक्षाकर्मी दोषी रहेको भन्दै भारतले नेपाल र नेपाली जनतासामू माफी माग्नु पर्ने नेपालका प्रमुख राजनीतिक दलहरुको माग छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्