जेन्टलमेन्ट एग्रिमेन्ट भएको छैन : प्रधानमन्त्री
बजेट घोषणा पुर्व सत्तारुढ दल एमाले र माओवादीबीच सरकार परीवर्तनबारे भएको भनिएको भद्र सहमतिलाई प्रधानमन्त्री केपी शर्मा वलीले इन्कार गरीदिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औ स्थापना दिवसको अवसरमा आयोजित जलपानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री वलीले बजेट पास भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुनै भद्र सहमति नभएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जेन्टलमेन्ट एग्रिमेन्ट भनेको के ? नौ बुँदे देख्नु भएन तपाईहरुले ? नौ बुँदेमा हस्ताक्षर छैन ? अनि हस्ताक्षर भएर जेन्टलमेन्ट एग्रिमेन्ट के हुन्छ ?’
सञ्चारकर्मीहरुले कांग्रेससँग भएको जस्तै सहमति भन्दा उहाँले भन्नुभयो, ‘त्यस्तो होइन । फरक कुरा थियो । पछि १६ बुँदे अर्कै सन्दर्भमा थियो । र, यसपल्ट त्यस्तो कुनै सहमति भएको छैन ।’
कांग्रेसले सरकार फेर्ने प्रयास गर्दा एमाले र एमाओवादीबीच नौ बुँदे सहमति भएको थियो । सत्तासाझेदारी दल माओवादीले बजेट पाएपछि प्रचण्डको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भएको दाबी गरेको छ । तर, प्रधानमन्त्री वलीले त्यसलाई अस्वीकार गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘मैले हेरेँ, तीनबुँदा भनेर लेखिएछ । स्वीकार गरिएको तीनबुँदा हो कि अस्वीकार गरिएको ?’ उहाँ आफैले जवाफ लिनुभयो, त्यो स्वीकार गरिएको थिएन ।’
सत्ता सुम्पने जेन्टलमेन्ट एग्रिमेन्टलाई अस्वीकार गरे पनि प्रधानमन्त्री वलीले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने प्रचण्डलाई सरकार छाड्ने संकेत गर्नुभएको छ ।
उसो भए प्रचण्ड प्रधानमन्त्री हुँदैनन् त भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘जो पनि प्रधानमन्त्री हुने त छँदैछ नि’ तर, ‘एमाले र माओवादीको सहमतिले मात्र राष्ट्रिय सहमति बन्दैन ।’
यो सरकार कहिलेसम्म रहन्छ त भन्ने प्रश्नमा प्रधानमन्त्री वलीले भन्नुभयोे, ‘यो सरकारले २०७४ साल मंसिरमा प्रतिनिधि सभाको चुनाव गराउँछ र त्यसमा बहुमत ल्याउँछ । त्यसपछि तपाईहरुका प्रश्नको थप उत्तर दिउँला ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्