भारतलाई नेपालमा हस्तक्षेप नगर्न चीनको चेतावनी
चिनियाँ सरकारको मुखपत्र मानिएको ग्लोबल टाइम्सले भारतले दक्षिण एसियाली राष्ट्रहरुमा हस्तक्षेप जारी राखे चीनले त्यसको प्रतिवाद गर्ने बताएको छ ।
मंगलबार लेख प्रकाशित गर्दै ग्लोबल टाइम्सले भारत चीनको विकासको परियोजनाको हिस्सा हुनुपर्ने कुरा दोहोर्याएको छ, जसले वान बेल्ट वान रोड परियोनातर्फ संकेत गर्छ ।
मंगलबार प्रकाशित एक कार्टुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वान बेल्ट वान रोडको बसमा चढ्ने वा नचढ्ने भनेर दुविधामा रहिरहँदा बसका यात्रीहरु भने हाँसिरहेको देखाइएको छ ।
विहारमा भएको अन्र्तराष्ट्रिय बुद्ध सेमिनारमा दलाई लामालाई बोलाएको प्रशंगलाई उल्लेख गर्दै लेखमा भारत चीन नीतिबारे रनभुल्ल रहेको उल्लेख गरिएको छ ।
भारत र दलाई लामाको सम्बन्धबारे चीन सँधै सशंकीत रहने गरेको छ । भारतको मिडियाले चीनका स्टेट काउन्सिलर र रक्षामन्त्री जेनरल चाङ वानकुवानको नेपाल र श्रीलंकाको भ्रमणबारे गरेको रिपोर्टिङको बारेमा पनि असन्तुष्टि प्रकट गरेको छ ।
हिन्दुस्तान टाइम्सले चाङको नेपाल भ्रमण र चीन र नेपालको संयुक्त सैन्य अभ्यासले दिल्ली ‘व्यग्र’ बनेको समाचार छापेको थियो । लेखमा भारतले दक्षिण एसियालाई आफ्नो आँगन ठान्ने गरेको कुरा उल्लेख गरेको छ ।
‘यो क्षेत्रमा बेइजिङको बढ्दो प्रभावबारे भारतले असहज महसुस गर्नु स्वभाविक हो । उदाहरणका लागि भारतले आर्थिक र कुटनीतिक रुपमा नियन्त्रण गरिरहेको भुटान र चीनबीच हालसम्म कुटनीतिक सम्बन्ध स्थापना हुन सकेको छैन,’ लेखमा भनिएको छ ।
भारतको हस्तक्षेपले चीन र नेपालबीचको सम्बन्धमा पनि असर परेको उल्लेख गरिएको छ । नेपालले दुई ठूला छिमेकीको बीचमा रहेर तटस्थ नीति लिँदा पनि भारतले त्यसलाई बेइजिङ परस्त बनेको भनेर सशंकीत हुने गरेको बताइएको छ । भारतका ‘परिधीय’ राष्ट्रहरु चीनको पनि छिमेकी रहेको बताउँदै भारतले उनीहरुलाई समान व्यवहार नगर्ने गरेको लेखमा बताइएको छ ।
‘नयाँ दिल्लीले चीन र छिमेकी राष्ट्रबीच हुने हरेक क्रियाकलापप्रति अति संवदेनशील हुन बन्द गर्नुपर्छ । नेपाल चीनसँग संयुक्त रुपमा परियोजनाहरु अघि बढाउन चाहन्छ । त्यहाँ चिनियाँ लगानी बढ्दै जाँदा बेइजिङले रक्षामा पनि सहकार्य बढाउनेछ, आफ्नो मात्र नभएर यस क्षेत्रकै सुरक्षा चाँसोको लागि,’ लेखमा भनिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्