दिनहुँ २ सय बढि महिलाको अबैध बाटोबाट तस्करी
मकवानपुरकी ३० वर्षीया रञ्जिता घले गत १ फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगिन् । नेपालबाट सीधै उड्दा चार घण्टामात्रै लाग्ने यूएई पुग्न उनलाई दुई साता लाग्यो । कारण–उनी श्रम स्वीकृतिमा गएकी थिइनन् । घरेलु कामदारलाई तस्करी गर्नेको बाटो नेपाल–दिल्ली–श्रीलंका घुम्दाघुम्दै आधा महिना बित्यो ।
उनलाई नेपालबाट पठाउने व्यक्ति थिए, भीमसेन गुरुङ । सारजाह विमानस्थल झरेपछि त्यहाँबाट टेकबहादुर मगरले ४५ किलोमिटर टाढा अजमान पुर्याए । उनलाई ‘मोनालाइजा लेबर्स रिक्रुटमेन्ट’ ले यूएई झिकाएको थियो । मोनालाइजले इथियोपिया, फिलिपिन्स, इन्डोनेसिया, श्रीलंका, भारत र बंगलादेशबाट हाउसमेड महिला ल्याउने काम गर्छ, जसमा नेपाल हेर्ने नाइके भने जीवन पुन र उनकी श्रीमती शिखा पुन हुन् ।
पीडित युवतीहरूका अनुसार नेपालबाट लगिएका महिलालाई यी दम्पतीले मागअनुसार यूएईका घरमा कामका लागि बेच्ने गर्छन् । ‘त्यहाँ पुग्दा दुई दर्जनजति नेपाली दिदीबहिनी थिए,’ उनले भनिन, ‘तर कानुनी रूपमा आउने कोही थिएनन, सबै तस्करीकै सिकारमा परेका थिए ।’
अवैध बाटोबाट दिनहुँ २ सय बढी महिलाको तस्करी
२१ वैशाख २०७३ मा सरकारले दोस्रो पटक ‘घरेलु कामदार निर्देशिका– २०७२’ लाई संशोधन गरेपछि खाडीमा वैध रूपमा हाउसमेड पठाउने बाटो खुल्ला भयो । जसमा अबुधाबीस्थित नेपाली दूतावासले हाउसमेड पठाउन संस्थागत प्रक्रिया अवलम्बन गर्यो ।
दूतावासमा यूएईका ९ म्यानपावर सूचीकृत भए । तिनले ३ अक्टोबरबाट नेपालमा सूचीकृतमध्ये २० म्यानपावरमार्फत हाउसमेड ल्याउन ६ सय मागपत्र पठाए । वैदेशिक रोजगार विभागका अनुसार १ सय ४६ भिसा प्रमाणीकरण भएकामा १ सय २० जना मात्रै महिला श्रम स्वीकृति लिएर गए ।
संस्थागत रूपमा खुल्ला भए पनि अवैध बाटोबाट घरेलु कामदारलाई तस्करी गर्न रोकिएन । घरेलु कामदार सरोकार समाजका अनुसार गैरकानुनी रूपले जोखिम मोलेर नेपाली महिला सेटिङ गरी त्रिभुवन विमानस्थल वा नेपाल–भारतको खुल्ला सिमानाको प्रयोग गरी भारत पुर्याई त्यहाँबाट श्रीलंका, यूएई हुँदै कुवेत, ओमन, साउदी, कतार र प्रतिबन्धित मुलुक इराक, सिरियासम्म दैनिक २ सयदेखि २ सय ५० जनासम्म अवैधानिक बाटोबाट लगिन्छन् । त्यसको मुख्य ट्रान्जिट यूएई हो ।
राहदानी विभागका अनुसार ६ वर्षको अवधिमा ७ लाख ६९ हजार नेपाली महिलाले राहदानी बनाएका छन् । जसमा विदेशस्थित नेपाली दूतावासबाट ८५ हजार ७ सय १७ ले बनाएका हुन् । जबकि वैदेशिक रोजगार विभागले झन्डै डेढ लाख मात्रै महिला कामदारलाई श्रम स्वीकृति प्रदान गरेको छ ।
‘बाँकी राहदानी बनाएका महिला कहाँ गए त ?’ प्रधानमन्त्रीको निजी सचिवालयमा कामदार उद्धार शाखामा रहेका सुशील ढुंगाना भन्छन, ‘सबै पढ्न र युरोप त गएका छैनन् । ठूलो हिस्सा तस्करीमा परेका छन् ।’
तस्करीको बाटो सरकारी कर्मचारीकै संलग्नतामा
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार हाउसमेडका लागि तस्करले बाटोहरू आवश्यकताअनुसार परिवर्तन गर्दै आएका छन् । नेपाल–भारत खुल्ला सिमानाको प्रयोग गरी भारतको दिल्ली, बनारस, कोलकाता, लखनउ, चेन्नाई विमानस्थलबाट भिजिट भिसाको माध्यमबाट लैजाने गरिएको छ ।
खाडी देशमा सीधै जान रोकिएको अवस्थामा ती विमानस्थलबाट नक्कली प्रहरी रिपोर्ट बनाई श्रीलंका हुँदै यूएई पठाउने गरिन्छ । सरोकारवाला निकाय मौन बसेको अवस्थामा तस्करले सेटिङ गरी त्रिभुवन विमानस्थलबाटै सीधै उडाउँछन् ।
‘यूएईको भिजिट भिसा सहजै निस्कन्छ, फेरि यो भिसामा गएकालाई हाउसमेडको भिसामा मात्रै परिवर्तन गर्न पाउने व्यवस्था छ,’ यूएईका लागि कार्यवाहक राजदूत नेत्रप्रसाद टण्डनले भने, ‘यही कारण पनि तस्करी बढेको हो ।’
घरेलु कामदार तस्करी गर्ने बाटोमा वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीको संलग्नता छ । तिनले व्यक्तिगत श्रम स्वीकृति, नवीकरण र वैधानिकीकरण गर्ने बेला एजेन्टसँग मिलेर श्रमस्वीकृति दिन्छन् । व्यक्तिगत नवीकरणका नाममा क्लिनरमा भिसा श्रमस्वीकृति दिन्छन् ।
वैदेशिक रोजगार कार्यालय ताहाचलमा यी शाखामा कार्यरत कर्मचारीलाई श्रम मन्त्रालयले सहयोग र सद्भाव राखेकाले कारबाही हुँदैन । तस्करी गर्ने काममा विमानस्थलको सम्बन्धित एयरलाइन्सको बोर्डिङ पास काउन्टर, अध्यागमन, प्रहरी चेक, वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका सम्बन्धित शाखा, व्यक्तिगत रि–इन्ट्री, वैधानिकीकरण, आईटी शाखाको मिलेमितोबिना सम्भव छैन ।
अबैध गरिकाले बिदेश पुगेकाहरु नेपालीबाटै शोषणमा
आबुधाबीस्थित नेपाली दूतावासको सेल्टर हाउसमा १५ नेपाली महिला आश्रय लिएर बसिरहेका छन् । ती सबै नेपाली एजेन्ट र तस्करको डरले घरबाट भागेर उद्धारका लागि दूतावास आइपुगेका हुन् । साउदी र कुवेतमा घरेलु कामदारको हैसियतमा एक दशक बिताएकी रञ्जितालाई कामको डर र भाषाको चिन्ता थिएन । तर नेपाली चेलीलाई जीवनले गर्ने व्यवहार देखेर निकै डर लाग्यो ।
भाग्ने मौका छोपेर बसेकी बेला उनी जीवनको पञ्जाबाट फुत्केर नेपाली दूतावासको शरणमा आइपुगिन् । ‘उर्मिला प्रजालाई रगत छाद्ने गरी पिटे, उनलाई एउटा गल्लीबाट भगाएर हामी अर्को गल्लीबाट निस्किन सफल भयौं,’ उनले नेपाली दूतावासमा बयान दिइन, ‘जब म उनको कम्पनीमा पुगें, घर छाडेर आएका र काममा जान नमान्ने दिदीबहिनीलाई निकै तुच्छ व्यवहार गरेको पाएँ । हामीलाई निकै अपशब्द बोल्ने, कुट्ने र हातपातसम्म गर्न पछाडि पर्दैनथे ।’
जीवनको म्यानपावर मोनालाइजा र सुजन भण्डारीको मर्हाबा लेबर रिक्रुटमेन्ट जस्ता यूएईमा सयौं म्यानपावर खुलेका छन् । त्यस्ता म्यानपावरमा कार्यरत नेपालीबाटै नेपाली युवतीलाई घरमा जबर्जस्ती पठाउने र नजानेलाई कुटपिट गरिन्छ । एजेन्टले भनेको नमान्ने युवती दुर्व्यवहारमा पर्छन् । पीडितले दूतावासलाई घर मालिकभन्दा पनि नेपाली एजेन्टरतस्करीबाटै शारीरिक शोषण गर्न खोजिने बयान दिएका छन् ।
दूतावास पनि तस्करलाई कारबाही गर्नेभन्दा पनि उद्धारमा मात्रै केन्द्रित
कानुनी कारबाही नहुँदा तस्करहरूको मनोबल झन् उच्च हुने गरेको छ । नेपाली दूतावास पनि तस्करलाई कारबाही गर्नेभन्दा पनि उद्धारमा मात्रै केन्द्रित छ । गएको एक वर्ष (सन् २०१६) मा ९१ महिलालाई आश्रय स्थलमा राखेर उद्धार गरेको छ । दूतावासले लेखेर पठाए पनि नेपालस्थित निकायहरूले दलालहरूलाई कारबाही गरेको पाइँदैन । एसएसपी सर्वेन्द्र खनालले श्रीलंकासम्म गई बनाएको अध्ययन प्रतिवेदन त्यत्तिकै थन्किएको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्