सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

०७४ मा देश एमालेमय, एमालेलाई तराईमा किन रोक

एमाले अध्यक्ष केपी ओलीले देश अब एमालेमय बन्दै जाने दाबी गरेका छन् । डा. भीष्म प्रसाईंको जीवनी पुस्तक लोर्कापण गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन् ।

‘देश ०७४ भित्र एमालेमय हुन्छ । एमालेमय बनाउन हामी जो जहाँ छौँ, त्यहाँबाट उठ्नु जरुरी छ,’ श्याम तमोटले लेखेको गाउँ–गाउँबाट उठ बोलको गीतका अंश सुनाउँदै ओलीले भने, ‘अब स्टेथेस्कोप (बिरामी जाँच्न डाक्टरले प्रयोग गर्ने उपकरण) हुनेहरू स्टेथेस्कोप लिएर उठ, स्लाइन दिनेहरू स्लाइन लिएर उठ । जे–जे गर्छाै त्यही लिएर उठ । एमालेमय बनाउने अभियानलाई पूरा गर ।’

उनले देशलाई एमालेमय बनाउने पहिलो खुड्किलो ३१ वैशाखको निर्वाचनलाई बनाउने दाबी गरे । पूर्वप्रधानमन्त्री ओलीले सरकारले चरम आर्थिक बेइमानी गरेको आरोपसमेत लगाएका छन । बजेटमा उल्लेख नभएका विषयमा पैसा पठाइएको तथा निर्वाचन आचारसंहिता विपरीत कर्मचारीको सरुवा गरिएको उनले दाबी गरे ।

राष्ट्रिय मानवअधिकार आयोगप्रति असन्तुष्ट देखिएका ओलीले तराईमा कार्यक्रम गर्न जानै नहुने गरी आयोगले रोक्न प्रयास गरेको बताएका छन । ‘मानवअधिकार आयोगले भन्दै छ, नजाऊ भनेको ठाउँमा पार्टीहरू किन जाने ? जानु हुँदैन । कार्यक्रम नगर्नु भनिसकेपछि किन गरेको त ? ड्याङडुङ गर्ने त उसको हकै हो नि । ड्याङडुङ त गर्न पाइन्छ नि, कार्यक्रम नगर्नु भनेपछि नगर्नु नि । अहिलेको मानवअधिकार आयोग गज्जबको निर्णय गर्छ,’ उनले भने ।

एमालेले तराईमा कार्यक्रम किन गर्नु हुँदैन ? एमालेका कोही नेता तराईमा किन जानु हुँदैन ? त्यसका पछाडि अरू कारण छैन, आतंक छ । नौ महिना त पुष्पकमल दाहाल प्रधानमन्त्री भएको हुन लाग्यो । नाकाबन्दीको समय होइन, अप्ठ्यारो समय होइन । सजिलो समय हो । तर, पनि काम केही भयो ?

नीति, विधि, थिति, इमानजमान सबै बेचेर आर्थिक बेइमानी गर्नुभएको छ उहाँहरूले । बजेटमा उल्लेख नभएका विषयमा पैसा पठाउनुभएको छ । आचारसंहिताविपरीत कर्मचारी सरुवादेखि सारा चिज उहाँहरूले गर्नुभएको छ । तर, देशका लागि जनताका लागि केही गर्नुभएन ।

पार्टीहरू विकासमुखी होइन, अधिकारमुखी भए । संविधान बनाउनेदेखि आजसम्म हामी अधिकारका लागि लड्यौँ, लडिरहेका छौँ । हाम्रो सोच विकासभन्दा पनि अधिकारका लागि छ । पार्टीहरू पनि विकासका लागिभन्दा अधिकारका लागि छन् । सरकारमा गएपछि विकास गर्नेभन्दा पनि आफ्ना मान्छे कता राख्ने भनेर फिटफाट गरिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS