मन्त्री भन्दा शक्तिशाली काठमाण्डौको मेयर को होला ?
बायाँबाट क्रमश; एमालेका योगेश भट्टराई, कांग्रेसका गगन थापा, माओवादीकी रेणु दाहाल र राप्रपाका राजाराम श्रेष्ठ
स्थानीय तहको निर्वाचनको घोषणासँगै यतिबेला काठमाण्डौ महानगरपालीकाको मेयर को बन्ला भन्ने बिषयले चर्चा पाउन थालेको छ । राजधानी भएकाले पनि काठमाडौं महानगरपालिकाको नेतृत्व कसले गर्ला भन्ने चासोको बिषय बनेको हो ।
काठमाण्डौ महानगरको नेतृत्वका लागी प्रमुख दलका केन्द्रीय युवा नेताहरुको नाम चर्चामा आउन थालेको छ । केन्द्रीय सरकारको मन्त्री भन्दा काठमाण्डौ महानगरको मेयरको हैसियत प्रभावशाली हुने भएकाले पनि चर्चित युवा नेताहरुको नाम चर्चामा आउन थालेको हो ।
प्रमुख राजनीतिक दलहरुले स्थानीय तहका उम्मेदवार सिफारिसका लागि मापदण्ड तय गर्दैछन् । एमाले र नेकपा माओवादी केन्द्रले यसअघि नै निर्णय गरेर सम्बन्धित कमिटीहरुमार्फत उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया अगाडी बढाइसकेका छन् ।
कांग्रेसले पनि जारी केन्द्रीय कमिटी बैठकपछि उम्मेदवार सिफारिसको मापदण्ड तय गर्ने बताईएको छ । उम्मेदवार मनोनयनको एक महिना बाँकी रहँदा काठमाडौंको मेयरका लागि केन्द्रदेखि जिल्ला तहका नेताहरुले आ–आफ्नो पार्टीभित्र लबिङ तीब्र पारेका छन् ।
काठमाडौं महानगरको चुनाव जित्नुको सन्देश राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा जाने भएकाले ठूला पार्टीले प्रतिष्ठाको विषय बनाउँदैछन् । पछिल्ला निर्वाचन परिणामहरुलाई हेर्ने हो भने काठमाडौंमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुनेछ भने माओवादी केन्द्र निर्णायक हुन सक्नेछ ।
गत संविधानसभा निर्वाचनको परिणाम हेर्दा काठमाडौंमा राप्रपाको पनि उल्लेख्य मत आएको छ । काठमाडौंको मेयरमा कांग्रेसबाट युवा नेता गगन थापालाई सम्भावित मेयरको उम्मेदवारका रुपमा चर्चामा ल्याइएको छ भने एमालेबाट सचिव योगेश भट्टराईको नाम चर्चामा छ ।
यद्यपी दुई नेताको नाम चर्चाको लागिमात्र ल्याइएको हो वा उनीहरुको रुचि र सम्भावित उम्मेदवारका रुपमा अघि सारिएको भन्ने प्रष्ट भइसकेको छैन । कांग्रेसले गगनको नाम चर्चामा ल्याएपछि एमालेबाट योगेश भट्टराईको नाम अघि सारिएको स्रोतको दाबी छ । यद्यपि दुवै नाम पार्टीका औपचारिक फोरममा छलफलमा आइसकेका छैनन् ।
काठमाडौं महानगरपालिकामा २४ वर्षको बीचमा दुईओटा चुनाव भए । पहिलो चुनाव २०४९ मा कांग्रेसका पीएल सिंह मेयर र नविन्द्रराज जोशी उपमेयर निर्वाचित भएका थिए । त्यो चुनावमा एमालेका राजेन्द्र श्रेष्ठ र केशव स्थापित पराजित भएका थिए । २०५४ को चुनावमा एमालेका केशव स्थापित र विदुर मैनाली मेयर तथा उपमेयरमा निर्वाचित भएका थिए ।
त्यसपछी स्थानीय चुनाव नभए पनि काठमाडौंमा २०५६ सालसम्म एमाले सबैभन्दा ठूलो शक्तिका रुपमा रहेको थियो । तर, २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले एक सिट पनि नजिती तेस्रो भएको थियो । २०७० सालमा आइपुग्दा माओवादी एक सिट पनि नजिती चौथो शक्ति बन्न पुग्यो भने कांग्रेस पहिलो र एमाले दोस्रो बने ।
यदि ०७० कै मतलाई आधार मान्ने हो भने काठमाडौं महानगरपालिकामा कांग्रेस सबैभन्दा बलियो छ । तर, संविधानसभा चुनावमा महानगर र तत्कालिन गाविसहरुको मत समावेश थियो ।
अहिले महानगरपालिकाका मतदाताले मात्र मतदान गर्ने भएकाले पछिल्लो संविधानसभा चुनावलाई मात्र आधार बनाउन सकिँदैन भने कतिपय नयाँ मतदाता पनि थपिएका छन् ।
कांग्रेसभित्र काठमाडौं प्रमुखका रुपमा गगन थापा बाहेक नविन्द्रराज जोशीको पनि नाम पार्टीभित्र चर्चामा छ । उनी काठमाडौं ८ बाट सांसद जितिसकेका र महानगरपालिकाको उपमेयर भइसकेका प्रभावशाली नेता हुन् । काठमाडौंमा प्रकाशमान सिंहको प्रभाव रहेकाले उनले गगनलाई रोक्न नविन्द्रराज जोशीको नाम अघि सार्न सक्छन् ।
कांग्रेसका एक नेताका अनुसार प्रकाशमानले नविन्द्रराज जोशीलाई प्रमुख र आफ्नी श्रीमती अञ्जली श्रेष्ठलाई उपप्रमुख बनाउने गरी पार्टी्भित्र वातावरण बनाउन लागेका छन् । कांग्रेसबाटै मेयरका लागि अर्का सशक्त दावेदारका रुपमा पूर्व सांसद तीर्थराम डंगोलको नाम पनि अघि सारिएको छ ।
एमालेबाट राष्ट्रिय रुपमा स्थापित नेताबाट उम्मेदवार दिनुपर्ने भन्दै सचिव योगेश भट्टराईको नाम कार्यकर्ताले अघि सारेका छन् । त्यस्तै केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र राजधानी कमिटीका इञ्चार्ज पोलिटव्यूरो सदस्य सानुकुमार श्रेष्ठ पनि महानगरपालिका प्रमुखको उम्मेदवारका रुपमा चर्चामा छन् । कृष्णगोपाल श्रेष्ठ पूर्व सांसद हुन् भने सानु श्रेष्ठ काठमाडौंका पूर्व जिविस सभापति हुन् ।
तीनैजना नेता बाहेक पार्टीका बिभिन्न कमिटीमा अरु तीन युवा नेताको नाम मेयरका लागि चर्चामा छन् । केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, काठमाडौं जिल्ला कमिटीका सचिव विद्यासुन्दर शाक्य र युवा नेता बसन्त मानन्धर एमालेबाट मेयरका सम्भावित प्रत्याशी हुन् । योगेश भट्टराई नउठेको अवस्थामा तीनजना मध्येबाट एकजनाले टिकट पाउने एमाले स्रोतले जनाएको छ ।
नेकपा माओवादी केन्द्रबाट काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवारका रुपमा प्रचण्ड पुत्री रेणु दाहाल र सर्बोत्तम डंगोलको नाम चर्चामा आएको छ । रेणु ०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहको निकटतम प्रतिद्वन्द्वी थिइन् ।
सर्बोत्तम डंगोल महानगरीय संयन्त्रमा रहे पनि एकपटक कारवाहीमा परिसकेका र जनमतको हिसाबले पनि रेणुले बढी मत तान्न सक्ने आँकलन माओवादी वृत्तमा भइरहेको छ । रेणुलाई प्रमुखको उम्मेदवार बनाएर उमेश स्थापितलाई उपप्रमुख बनाउने प्रयास माओवादीभित्र भइरहेको छ । स्थापित एमालेमा हुँदा वडा नम्बर २४ को वडाध्यक्ष थिए ।
राप्रपाबाट काठमाडौंको मेयरमा राजाराम श्रेष्ठको नाम अग्रपंक्तिमा छ । उनी पूर्वराजा ज्ञानेन्द्र शाहले गराएको चुनावमा पनि काठमाडौंको मेयर भएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्