नेपाली चेली ४ लाखमा बेचिन्छन खाडी मुलुकमा
संसदीय समितिले स्थलगत अध्ययनमार्फत सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको निष्कर्श निकालेको छ । खाडी मुलुकमा नेपाली कामदारहरुको समस्याबारे स्थलगत अध्ययन गर्न गएको व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले यस्तो खुलासा गरेको हो ।
समितिका सभापति प्रभु साह नेतृत्वको टोलीले साउदी अरब, कुवेत, कतार र यूएईको स्थलगत भ्रमण गरेको थियो । मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै समितिका सभापति साहले चारै वटा मुलुकमा नेपाली कामदारको अवस्था दयनीय पाइएको बताएका छन ।
साहले नेपाली चेलीहरु खाडी मुलुकमा ४ लाख रुपैयाँसम्ममा बेचिने गरेको पाइएको पनि जानकारी गराएका छन । बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने–‘नेपाली कामदारहरु दोहोरो श्रम सम्झौताको मारमा पर्दा समेत त्यहाँस्थित नेपाली कूटनीतिक नियोगले कुनै पहल गरेको देखिएन ।’
नेपाली कूटनीतिक नियोग र विमानस्थलमा रहेको अध्यागमन विभागको लाचारीपनका कारण नेपाल मानव तस्करको ट्रान्जिट प्वाइन्ट बन्दै गएको साहले बताएका छन । खाडी मुलुकहरुले पनि सम्झौताअनुसारको काम तथा सेवा र सुविधा नदिएर नेपाली कामदारमाथि पीडा थप्ने काम गरेको संसदीय टोलीले जनाएको छ ।
त्यसैगरी संसदीय समितिले म्यानपावर कम्पनीहरुले नेपाली कामदारमाथि ठगी गरिरहेको निस्कर्ष पनि निकालेको छ । चारवटै मुलुकमा विनाशुल्क कामदार पठाउने व्यवस्थाविपरीत नेपाली कामदारहरुबाट म्यानपावर कम्पनीहरुले ठूलो रकम असुल गरेको सभापति साहले बताएका छन ।
समितिले नेपाली महिला कामदारहरु इरान, इराक, ओमान लगायतका प्रतिबन्धित मुलुकमा अझै बेचिने गरेको पनि जनाएको छ । खाडी मुलुकमा रहेका नेपाली महिला कामदारहरु एक्जिट भिषाको अभावमा नेपाली दूतावासहरुमा शरण लिएर बस्न बाध्य भएको पनि समितिको स्थलगत भ्रमणको क्रममा पाइएको छ ।
महिला कामदारहरुमाथि शारीरिक शोषण समेत हुने गरेको पाइएको समितिले जनाएको छ । खाडी मुलुकमा गएका कामदारहरुमाथि चर्को शोषण हुने गरेको पाइएपछि समितिले धेरै कामदार रहेका चार वटा खाडी मुलुकहरुको स्थलगत भ्रमण गरी त्यहाँको अवस्थाबारे अध्ययन गरेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्