सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्रिसमस विदा, मुखर्जी विदा, पृथ्वीजयन्ती अलविदा

लामो कसरतका बापजुत सरकारले आर्थिक वर्ष ०७४/०७५ का लागि सार्वजनिक विदाहरुको टुंगो लगाएको छ । मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले पुरानै विदालाई निरन्तरता दिने निर्णय गर्दै विदाको टुंगो लगाएको हो ।

क्रिसमस, ईद लगायतका पर्वमा विदा दिएको सरकारले विगतमा जस्तै ०७४ सालमा पनि पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिएको छैन । नानक जगन्ती, महावीर जयन्ती, क्रिसमस डे लगायतका धार्मिक दिनहरुमा विगतको विदालाई निरन्तरता दिइएको छ ।

यस बर्ष निकै चर्चामा रहेको पुस २७ गते पृथ्वी जयन्ती विदा दिने प्रस्ताव सामाजिक समितिले अस्वीकृत गरेको हो । मन्त्रिपरिषदमा केही मन्त्रीहरुले पनि पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने लविङ गरेका थिए । तर, गृह मन्त्रालयले भने उक्त दिन विदा नदिने प्रस्ताव गरेको थियो ।

क्रिसमस डेमा दबाव दिएको भरमा सार्वजनिक विदा दिने सरकारले पृथ्वीजयन्तीमा सार्वजनिक विदा नदिएर यो देशको निर्माणकर्ता प्रति तिरस्कारपुर्ण व्यवहार गरेको छ । एउटा समुदायलाई खुशी पार्न विदा दिन सक्ने सरकारले राष्ट्रिय एकताका प्रतिकलाई अबहेलना गर्नु दुखद कुरा भएको भन्दै चौतर्फी आलोचना भएको छ ।

अघिल्ला बर्षको क्यालेण्डरमा क्रिसमस डेका दिन सार्वजनिक विदा दिइएको थिएन । तर, गृहमन्त्रीले अन्तिम समयमा निर्णय गरेर सार्वजनिक विदा दिएका थिए । उनै गृहमन्त्रीले पृथ्वीजयन्तीमा भने सार्वजनिक विदा दिन अस्विकार गरेका थिए । पृथ्वीजयन्तीमा विदा नदिने सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाण्डौ आउँदा देशभर विदा दिएको थियो ।

सरकारले बैशाख ११ गते लोकतन्त्र दिवसका दिन पनि विदा नदिने निर्णय गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसमा भने सार्वजनिक विदा दिइएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसलाई सार्वजनिक विदामा समावेश गरिएको छ । असोज ३ गते संविधान दिवसलाई पनि सार्वजनिक विदामा समावेश गरिएको छ ।

बैशाख १८ गते विश्व मजदुर दिवसको अवसरमा पनि सार्वजनिक विदा दिईएको छ । यस्तै माघ १६ गते शहिद दिवस र फागुन २४ गते अन्र्तराष्ट्रिय महिला दिवसमा पनि विदा दिने निर्णय गरिएको छ ।

बैशाख २७ गते बुद्ध जयन्ती र साउन ३० गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा पनि सार्वजनिक विदा दिने निर्णय गरिएको छ । चैत्र ११ गते रामनवमी पनि विदामा समावेश छ । बर्ष २०७४/७५ मा ५१ हप्ताका ५१ वटा शनिबार छन् । यसबाहेक चाडपर्व, विभिन्न दिवस गरी ३४ दिन सार्वजनिक विदा दिइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्