यस्ता छन; पोखरा महानगरका सम्भावित मेयरहरु !
राज्यको पुर्नसंरचनासँगै क्षेत्रफलको हिसाबले पोखरा देशकै सबैभन्दा ठूलो महानगरपालिका बनेको छ । लेखनाथ नगरपालिकालाई समेत गाभेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरेपछी क्षेत्रफलका हिसाबले पोखरा देशकै ठुलो महानगर बनेको हो ।
जिल्लाको ८० प्रतिशत भूभाग समेटिएको कास्कीका सबै निर्वाचन क्षेत्र महानगरपालीका भित्र अटाएका छन । तत्कालिन पोखरा उपमहानगरपालिकामा लेखनाथ नगरपालिकासहित एक दर्जन गाविस थपेर महानगरपालीका बनाईएको हो ।
कास्कीका राङकोट, पुरुनचौर, लामाचौर, भदौरे, चापाकोट, कास्कीकोट, अर्मला, मौजा, काहुँ, भारतपोखरी, निर्मलपोखरी र भलाम गाविस गाभिएका हुन् । महानगर बनाउँदा एमाले पकड रहेका गाविस मिलाएर एमाले अनुकुल बनाईएको भन्दै कांग्रेसका नेता कार्यकर्ताले असन्तुष्टी जनाएका छन ।
स्थानीय तहको निर्वाचनको घोषणासँगै पोखरा लेखनाथ महानगरपालिकाको मेयरका लागि कांग्रेस, एमाले र माओवादी लगायतका पार्टी भित्र लबिङ सुरु भएको छ । पयर्टकीय शहर लेखनाथ पोखरा महानगरपालीकाको प्रमुख बन्नका लागी जिल्लाका प्रभावशाली नेताहरुले नै आकांक्षा देखाएका छन ।
उम्मेदवारका आकांक्षीहरुले कार्यकर्ता भेटघाटलाई तिव्रता दिन थालेका छन । कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्र महानगरपालिका भित्र पर्ने भएकाले महानगरको मेयर सांसदभन्दा शक्तिशाली हुने निश्चित छ । त्यसैले बहालवाला सांसददेखि सांसदको चुनावका प्रत्याशीहरु नै मेयरका आकांक्षी देखिएका छन् ।
आम जनमानसमा पोखराको मेयरमा एमालेका सांसद तथा युवा नेता रविन्द्र अधिकारी र कांग्रेस सांसद यज्ञबहादुर थापा नै आउने चर्चा पनि चलेको छ । तर, अन्य नेताहरुलाई नै व्यवस्थापन गर्न समस्या परेका बेला पार्टीहरुले बहालावाला सांसदलाई मेयरको उम्मेदवार बनाउने सम्भावना नरहेको दलका नेताहरुको बुझाई छ ।
पोखराको मेयरका लागि कांग्रेसभित्र आधा दर्जन आकांक्षी देखिएका छन् । ती मध्ये पूर्व सांसद महादेव गुरुङ र उद्योग वाणिज्य संघ पोखराका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा सशक्त दावेदार हुन् । त्यस्तै कांग्रेसका जिल्ला सभापति कृष्ण केसी, अशोक पालिखे र पोखरा उपमहानगरका पूर्व वडाध्यक्ष बिजेन्द्रनारायण बिजुक्छे पनि मेयरका आकांक्षी हुन् ।
त्यस्तै पूर्वसचिव बाबुराम आचार्यले पनि मेयरका लागि आकांक्षा देखाउँदै कांग्रेस कार्यकर्तालाई आफ्नो पक्षमा परिचालन गरिसकेका छन् । पोखरा गुरुङ समुदायको सघन बसोबासको महानगरपालिका भएकाले महादेव गुरुङले टिकट पाउने सम्भावना बढी रहेको चर्चा कांग्रेस वृत्तमा छ ।
तर, उनी जिल्लामा भन्दा केन्द्रमै रहने गरेकाले जिल्लामा उनको पक्षमा माहौल बन्न सकेको छैन । विन्दुकुमार थापा पनि चर्चित अनुहार हुन् । त्यसो त देवराज चालिसेले पनि मेयरका लागि आफ्नो आकांक्षा देखाएका छन् ।
एमालेबाट मेयरका लागि पोखराका पूर्व मेयर कृष्ण थापा प्रबल दाबेदारका रुपमा देखिएका छन् । त्यस्तै एमालेका पूर्व जिल्ला अध्यक्ष मानवहादुर जिसी र युवा संघका अध्यक्ष राजिव पहारी पनि मेयरका आकांक्षी हुन् । कृष्ण थापा ०५४ मा पनि पोखराको मेयर जितेका व्यक्ति हुन् । उनी गत संविधानसभा निर्वाचनमा कास्की २ बाट कांग्रेसकी शारदा पौडेलसँग पराजित भएका थिए ।
त्यस्तै मानवहादुर जिसी एमालेका अर्का दाबेदार हुन् । उनी गत संविधान सभाको निर्वाचनमा कांग्रेसका यज्ञबहादुर थापासँग पराजित भएका थिए । एमालेबाट मेयरका अर्का दाबेदार राजिव पहारी युवा संघका अध्यक्ष र पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व स्ववियु सभापति हुन् । पोखराको मेयरमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका पूर्व डीन डा.भरत पहारीको पनि नाम चर्चामा आएको छ ।
माओवादी केन्द्रबाट मेयरका आकांक्षीको रुपमा पोखरा नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, क्रिकेट एशोसियसनका पूर्व अध्यक्ष दीपक कोइराला, तमु मुक्ति मोर्चाका अध्यक्ष बखान सिंह गुरुङ र पार्टीका पोलिटब्यूरो सदस्य झलकपाणि तिवारी मुख्य दाबेदारका रुपमा देखिएका छन् ।
पोखरा महानगरपालिकामा राप्रपा र संघीय समाजवादी फोरमको पनि अस्तित्व छ । तर, ती पार्टीबाट मेयरका आकांक्षीहरु सार्वजनिक भइसकेका छैनन् । राप्रपाका नेता सूर्यबहादुर केसी पार्टी छाडेर बसेका छन् । राप्रपाबाट अरु आकांक्षीहरु देखिइसकेका छैनन् ।
पोखरा नगरको चुनावी इतिहास हेर्दा ०४९ मा नेपाली कांग्रेसले जितेको थियो भने ०५४ मा एमालेले जित्यो । अहिले गाभिएको लेखनाथ नगरपालिकामा एमालेले जितेको थियो । थपिएका गाविसहरुमध्ये धेरैजसो एमालेको पकड क्षेत्र मानिएका गाउँ हुन् ।
पोखरा महानगरपालिकामा कास्कीका चार क्षेत्रमध्ये ०७० को चुनावमा २ सीट कांग्रेस र २ एमालेले जितेका थिए । त्यसअघि ०६४ मा तीनवटा क्षेत्र माओवादीले जित्दा एउटा क्षेत्र एमालेका रविन्द्र अधिकारीले जितेका थिए ।
पोखराको चुनावमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिएको छ । तर माओवादी केन्द्रले पनि पछिल्लो पटक आफ्नो अवस्था सुधार गर्दै लगेको देखिन्छ ।
स्रोत; अनलाईनखवर
फेसबुकबाट कमेन्ट गर्नुहोस्