नेपालमा ५८ प्रतिशतले गर्छन असुरक्षित गर्भपतन
एक अध्ययन अनुसार नेपालमा कुल गर्भपतनको ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) नामको संस्थाले गरेको अध्ययनमा यस्तो तथ्य पाइएको हो ।
गर्भपतन गराउने ४२ प्रतिशतले मात्रै नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्ने गरेको अनुसन्धानले देखाएको अनुसन्धानकर्ता डा. महेश पुरीले जानकारी दिए ।
अध्ययन अनुसार नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गरेकामा एक लाख ३७ हजारले मात्रै सुरक्षित गर्भपतन गरेका छन् । बाँकी एक लाख ८६ हजार ९४ महिलाले भने मान्यता नदिएको स्वास्थ्य संस्थाबाट गर्भपतन गरेको पाइएको छ ।
कृपाले गरेको अध्ययनमा गर्भपतन गराएकामध्ये ८० हजारलाई समस्या देखिएकोले उपचारका लागि स्वास्थ्य संस्थामा जाने गरेको र तीमध्ये करिब ५४ हजार महिलाले भने मान्यता नपाएका स्वास्थ्य संस्थामा गर्भपतन गराएको पाइएको छ ।
यो तत्थाङ्कले नेपालमा असुरक्षित गर्भपतन ठूलो समस्याको रुपमा रहेको पाइएको डा. पुरीले बताएका छन । पाँचै विकास क्षेत्रका जिल्लालाई प्रतिनिधित्व गर्ने गरी २७ जिल्ला तथा ३८६ वटा स्वास्थ्य संस्थामा अध्ययन गरिएको थियो ।
नेपालमा वार्षिक १० लाख ४८ हजारले गर्भधारण गर्ने गरेको र त्यसमध्ये ५० प्रतिशत इच्छा विपरितको हुने गरेको अध्ययनले देखाएको छ । इच्छा विपरित गर्भ रहेकामध्ये ६२ प्रतिशतले गर्भपतन गर्ने गरेको समेत सो अध्ययनले देखाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्