को चढ्ला भरतपुर महानगरको साढे २ करोडको गाडी
स्थानीय तहको निर्बाचन घोषणा भएसँगै भरतपुर महानगरपालिकामा पनि मेयरका आकांक्षिहरुको दौडधुप सुरु भएको छ । भरतपुर महानगरको मेयर बन्नका लागी आकांक्षिहरुले नेताहरुकहाँ धाउने क्रम सुरु भएको छ भने कार्यकर्ता भेटघाट पनि बाक्लीएको छ ।
भरतपुर महानगरपालिकाको मेयर बन्न बिशेषगरी कांग्रेस, एमाले र माओवादीका सम्भावित उम्मेद्वारहरु मरिमेटी लागेका छन । सांसदले भन्दा पनि ठूलो विकास बजेट परिचालन गर्न पाउने, कार्यकर्तालाई कर्मचारी बनाउन सक्ने जस्ता थुप्रै अवसर भएका कारण पनि भरतपुरको मेयर बन्न चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।
भरतपुर महानगरको मेयरले बार्षिक झण्डै २ देखि ३ अर्बसम्मको स्रोत परिचालन गर्न पाउनेछ । साथै विवादका बीचमा तत्कालीन कार्यकारी अधिकृत नारायण सापकोटाले भित्र्याएको झण्डै डेढ करोड रुपैयाँभन्दा महंगो गाडी पनि भरतपुर महानगरको मेयरले चढ्न पाउनेछ ।
भरतपुर महानगरपालिकामा एक नगर अध्यक्ष (मेयर) सहित एक सय ५० जना प्रतिनिधि चयन हुनेछन् । चितवनलाई कांग्रेसले आफ्नो बलियो आधार क्षेत्रका रूपमा लिँदै आएको छ । पूर्वी चितवनमा कांग्रेसको पकड कम भए पनि पश्चिम चितवनमा भने कांग्रेसको प्रभाव बढी छ ।
कांग्रेसका तत्कालीन सभापति दिवंगत सुशील कोइरालाले कांग्रेसको पकड भएकै कारण दोस्रो संविधानसभा निर्वाचनमा आफ्नो गृह जिल्ला बाँके भन्दा पहिला चितवन क्षेत्र नं. ४ बाट उम्मेदवारी घोषणा गरेका थिए । कांग्रेसको प्रभाव क्षेत्र भएका कारण जित्न सक्ने सम्भावना बलियो भएको आँकलन गर्दै कांग्रेसबाट मेयरका आकांक्षी पनि बढी नै देखिएका छन् ।
भरतपुर महानगरको मेयरको दौडमा कांग्रेसका पूर्व पार्टी सभापति टेकप्रसाद गुरुङको नाम सबैभन्दा आगाडि छ । कांग्रेस चितवनभित्र संकट परेका बेला केन्द्रले समेत विश्वास गर्ने नेताका रूपमा टेकप्रसादलाई लिने गरिन्छ । यद्यपि पञ्चायती पृष्ठभूमि भएका कारण पनि उनलाई मन नपराउनेहरू कांग्रेसभित्रै छन् ।
नेपाली कांग्रेस चितवनको नेतृत्व युवा नेता जीतनारायण श्रेष्ठका हातमा छ । पूर्व जिल्ला सभापति विकास कोइरालाका भाई कैलासले युवाहरुको हातमा नेतृत्व आउनुपर्ने भन्दै दौडधुपमा लागेका छन् । यस्तै दिनेश कोइराला, राजेश्वर खनाल लगायतका केही युवा नेताहरु पनि मेयरका आकांक्षि देखिएका छन ।
यस्तै अर्का युवा नेता भरत गुरुङ, कांग्रेसका भरतपुर नगरसभापति भरत अधिकारी, देउवा गुटबाट प्रकाश अधिकारी र मिलनबाबु श्रेष्ठ, जग्गा व्यवसायी विजय शर्मा भुसाल, बखानसिंह गुरुङको लिगेसी बोकेका तोपमानसिंह गुरुङ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका पूर्वरजिष्टार एवम् नेविसंघका पूर्वनेता सूर्यकान्त घिमिरेले पनि मेयरमा दाबी पेश गरेका छन् ।
कांग्रेसबाट भरतपुरको उपमेयरमा महिला नेतृहरू सरिता केसी लगायतले दाबी गरेका छन् । पार्टीमा देखिएको तीन धारले गर्दा भरतपुर महानगरमा कांग्रेसबाट मेयरको टिकट कुन नेताले पाउन सक्छ भन्ने टुंगो लगाउन पार्टीलाई गाह्रो परेको छ ।
आगामी निर्वाचनमा पहिलो दल बन्ने तयारीसाथ चुनाबी मैदानमा उत्रिएको एमाले भरतपुर महानगरपालिको मेयर र उपमेयर जसरी पनि जित्ने दाउमा छ । एमालेबाट महानगरपालिकाको मेयरमा एमाले सल्लाहाकार परिषद्का सदस्य देवी ज्ञवालीका साथै तीन पटकसम्म जिल्ला पार्टी सचिव भैसकेका नेता विजय सुवेदीको चर्चा सबैभन्दा बढी छ ।
यस्तै एमालेबाट मेयरको चर्चामा केशवलाल श्रेष्ठ, घनश्याम भट्टराई, पार्वती रावल, डा. तिलचन्द्र भट्टराई, बद्रि अधिकारी लगायतका नेताहरूले पनि आकांक्षा देखाएका छन् । एमाले चितवनकी नेतृ पार्वती रावललाई मेयरको प्रवल दाबेदारका रुपमा लिइएको भए पनि यसपटक निर्वाचन नउठ्ने रावलले बताउँदै आएकी छिन् ।
पार्टीले जिम्मेवारी दिएमा पछि नहट्ने उनको धारणा छ । एमाले वृत्तमा रावललाई उम्मेदवार बनाउँदा महानगरको मेयर जित्न सजिलो हुने चर्चा छ । रावल एमाले चितवनकी चर्चित महिला नेतृ हुन् । रावलले वाकओभर दिएको अवस्थामा मेयरमा प्रमुख रूपमा देवी ज्ञवाली, विजय सुवेदी र केशवलाल श्रेष्ठको दावी रहने सम्भाबना देखिन्छ ।
देवी ज्ञवाली ०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं ३ का उम्मेद्वार रहेका थिए भने विजय सुवेदी क्षेत्र नं ५ बाट उम्मेदवार भए पनि दुबै पराजित भएका थिए । ज्ञवाली ०५८ देखि ०६१ सम्म चितवनको पार्टी सचिव भएर काम गरिसकेका नेता हुन् । उनी ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उपमेयरमा जितेका ब्यक्ति हुन् ।
एमालेकै अर्का दावेदार विजय सुवेदीले आफ्नो राजनीतिक कर्मथलो नै पश्चिम चितवन भएको र एमाले इत्तरका मतदाताहरूको समेत मत तान्न सक्ने दाबी गरेका छन् । सुवेदी चितवन उपत्यका गुरूयोजना निर्माण समितिको संयोजक भएर काम गरेका नेता हुन् । यस्तै भरतपुर अस्पतालको अध्यक्ष भएर समेत चर्चामा आउने काम गरिसकेका छन् । ज्ञवाली र सुवेदी दुबै केपी ओली समूहका नेता हुन् ।
मेयरका दाबेदार भनिएका केशवलाल श्रेष्ठ बामदेव गौतमसँग निकट मानिन्छन् । त्यसैगरी एमाले प्रचार विभाग प्रमुख समेत भैसकेका एमाले नेता घनश्याम भट्टराई युवा नेता हुन् । माधव नेपाल समुहका नेता भट्टराईलाई पनि सम्भावित मेयरका रूपमा हेरिएको छ ।
त्यसो त पार्टी अध्यक्ष कृष्णभक्त पोखरेलसँग मेयरमा आफुहरूलाई टिकट दिनुपर्ने र विगतको वाचा कवुल पूरा गर्नुपर्ने भन्दै कृष्णराज न्यौपाने र पूर्वपार्टी सचिव अरुणपीडित भण्डारीले पनि दबाव बढाएका छन् । उद्योग बाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराईलाई पनि एमाले तर्फबाट मेयरको दावेदारका रुपमा हेरिएको छ ।
मेयरमा पार्वती रावल उठेमा उपमयेरमा पश्चिम चितवनका एमाले नेता कृष्ण भूर्तेलले दाबी पेश गरेका छन् । उप–मेयरमा एमालेबाट पार्वती सिलवाल, भगवती पौडेल, ईश्वरी शर्मा ढकालले आकांक्षा देखाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्ला र घर समेत महानगरभित्र नै पर्ने भएकाले माओवादी केन्द्रका लागि भरतपुर महानगरपालिकाको मेयर प्रतिष्ठाको बिषय बनेको छ । प्रधानमन्त्री दाहालले निर्वाचनको पूर्वसन्ध्यामा चितवन जिल्लाका लागि हालै करोडौं बजेटको प्याकेज कार्यक्रम ल्याएपछि मेयर जित्न सघाउ पुग्ने माओवादी केन्द्रको आँकलन छ ।
माओवादी केन्द्रबाट महानगरपालिकाको मेयरमा नारायण दाहाल, सूर्य सुवेदी पथिक, घनश्याम दाहाल अविनास र ठाकुर ढकालको नाम चर्चामा छ । प्रचण्डले चाहेको ब्यक्ति नै भरतपुरको मेयरको उम्मेद्वार बन्ने भएकाले नारायण दाहालको सम्भावना बलियो छ । माओवादी केन्द्रमा उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष मित्रराज दवाडी र खेम भट्टको पनि मेयरका रुपमा चर्चा छ ।
चितवन राप्रपाले प्रत्यक्षतर्फ चुनाव जितेको जिल्ला हो । माडी क्षेत्रबाट चुनाव जितेका विक्रम पाण्डे अहिले मन्त्रीसमेत छन् । यसकारण भरतपुर महानगरपालिकाको मेयरमा राप्रपा पनि प्रतिस्पर्धी बन्दैछ । राप्रपाबाट जिल्ला अध्यक्ष बद्री तिमिल्सिना र भरतपुर महानगरका पार्टी प्रमुख बिष्णुप्रसाद खरालको नाम चर्चामा छ ।
खरालले आकांक्षा देखाए पनि पार्टीले बद्री तिमिल्सिनालाई नै उम्मेद्वारको रुपमा टुग्याउने तयारी गरेको पार्टी सचिव केशबराज भण्डारीले बताएका छन । यस्तै राप्रपाबाट उपमेयरमा जिल्ला उपाध्यक्ष मीना न्यौपानेले दाबी गरेकी छिन् ।
भरतपुर महानगरपालिकामा २९ वडा छन् । यहाँको जनसंख्या २ लाख ८० हजार छ । महानगरपालिकामा मतदाता १ लाख ५१ हजार ६ सय ४१ जना छन् । महानगरपालिकामा झण्डै ४० प्रतिशत जनजाति बाहुल्य छ ।
कसले जित्ला भरतपुर महानगरको मेयर ?
०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जीतको थियो । एमाले नेता हेमबहादुर पिया मेयर र उपमेयरमा देवी ज्ञवाली बिजयी भएका थिए । त्यसबेला कायम रहेका १४ वटा वडामध्ये वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्वर वडाहरु एमालेले जितेको थियो ।
यसपटक पश्चिम चितवनको सबै भूभाग महानगरपालिकामा समेटिएकाले शक्ति सन्तुलन फेरिएको छ । यद्यपि प्रमुख रूपमा कांग्रेस र एमालेका बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ । पश्चिम चितवनको साविकको गाविस मेघौली कांग्रेस, एमाले र माओवादीका साथै राप्रपाको समेत प्रभाव क्षेत्र हो । समग्र मत प्याट्रनमा एमाले बलियो रहेको एमालेका नेताहरुको दाबी छ ।
पटिहानी गाविस र शिवनगर गाविसमा माओवादी केन्द्रको प्रभाव राम्रै मानिन्छ । शिवनगर प्रधानमन्त्री पुष्पकमल दाहालको गाउँ हो । यी बाहेक अन्यमा माओवादी केन्द्रको उपस्थिती कमजोर छ । माओवादी केन्द्रको भोट जीतकै लागि पर्याप्त देखिँदैन ।
चितवन निर्वाचन क्षेत्र नं ४ कांंग्रेसको बलियो पकड क्षेत्र मानिन्छ । जहाँ ०७१ सालमा भएको संविधानसभा उपनिर्वाचनमा एमालेकी पार्वती रावल कांग्रेसका रामकृष्ण घिमिरेसँग करिव ३ हजार मतले पराजित भएकी थिइन् । रावल ०७० सालमा भएको संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट शुशील कोइरालासँग झण्डै ११ हजार मतले पराजित भएकी थिइन् । ६ महिनापछि उपनिर्वाचनमा रावलले झण्डै ७ हजार मतले जितेकी थिइन् ।
पश्चिम चितवनका साविकका गाविसहरु जगतपुर, शुक्रनगर, दिब्यनगर, गुञ्जनगर, शिवनगर र फूलवारी क्षेत्र कांग्रेसको बलियो पकड क्षेत्र हो । महानगरका वडा नम्वर २, ९, ११, १२ मा एमालेको उपस्थिति बलियो छ । वडा नम्वर ११ सबैभन्दा धेरै मतदाता भएको वडा हो । भरतपुरको मुख्य केन्द्र वडा नं १० मा कांग्रेस र एमालेको मत बराबरी जस्तै छ ।
वडा नं १२ मा एमाले बलियो छ, जहाँ ५ हजार ५ सय ३ मतदाता छन् । गत निर्वाचनको मत अवस्थालाई हेर्दा साविक मंगलपुर गाविस र हाल महानगरको वडा नं १६ मा एमाले र वडा नं १५ मा कांग्रेसको पकड देखिन्छ । वडा नं १६ मा ७ हजार ३ सय ७१ मतदाता छन् भने वडा नं १५ मा ७ हजार ६ सय ४७ मतदाता छन् ।
महानगरको वडा न ४ (साविक भरतपुर उपमहानगरपालिकाको वडा नं ५ र ६ ) मा ७ हजार ६ सय ४७ मतदाता छन् । यसमा कांग्रेस सामान्य मतका साथ अगाडी छ । वडा नं १ मा एमाले सामान्यरुपमा अगाडि छ भने वडा नं ३ मा कांग्रेसको अग्रता देखिन्छ ।
एमालेको पकड मानिएको कविलास गाविसलाई महानगरपालिकाको २९ नम्वर वडा कायम गरिएको छ । महानगरका अन्य वडाहरूमा कांग्रेस र एमालेको मतमा खासै फरक नपर्ने र कविलास गाविस अर्थात हालको २९ नम्वर वडाले निर्णायक मत हाल्ने देखिन्छ । यस वडामा २ हजार ९ सय ५२ मतदाता छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्