सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

यस्तो छ, कांग्रेसको उम्मेद्वार छनौट गर्ने मापदण्ड

वैशाख ७ भित्र उम्मेद्वार छनोट गरिसक्ने निर्णय गर्दै नेपाली कांग्रेसले स्थानीय तहको उम्मेद्वार छनोटको मापदण्ड तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले उम्मेदवार छनोटको दुईबुँदे मापदण्ड तय गरेको हो ।

साथै बैठकले नयाँ संरचना अनुसार नै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका समन्वय समिति गठन गरेको छ । कांग्रेसले निर्वाचन क्षेत्रका आधारमा उम्मेद्वार सिफारिसको मापदण्ड बनाएको छ ।

एउटा निर्वाचन क्षेत्र अन्र्तगतका गाउँपालिका र नगरपालिकामा प्रमुख र उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेद्वार छनोट क्षेत्रीय कार्यसमितिले गर्नेछ ।

उम्मेद्वारको नाम सम्बन्धित गाउँ, नगर, महानगर वडा, उपमहानगर वडा समन्वय समितिले सिफारिस गर्नेछ र, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेद्वार र क्षेत्रीय सभापतिका निकटतम प्रतिद्वन्द्वी समेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिबाट सर्बसम्मत निर्णय गर्नु पर्नेछ ।

सर्वसम्मत निर्णय हुन नसके आजसम्म कायम क्षेत्रीय पदाधिकारी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटतम प्रतिद्वन्द्वी समेतको सहमतिमा उम्मेदवार छनौट गर्नु पर्नेछ ।

दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुख र उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार छनौट जिल्ला कार्यसमितिले गर्नेछ ।

उम्मेद्वारको नाम सम्बन्धित क्षेत्रले सिफारिस गर्नेछ र, क्षेत्रीय सभापति, जिल्ला सभापतिका निकटतम प्रतिद्वन्द्वी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद र प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा जिल्ला कार्यसमितिबाट सर्बसम्मत निर्णय गर्नु पर्नेछ ।

सर्वसम्मत निर्णय हुन नसके आजसम्म कायम जिल्ला पदाधिकारी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र जिल्ला सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको सहमतिमा उम्मेदवार छनौट गर्नु पर्नेछ ।

क्षेत्रीय वा छनोट समितिले सर्वसम्मत सिफारिस गरेका नामलाई जिल्लाले अनुमोदन गर्नु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ । कांग्रेसले वैशाख ७ गतेभित्र उम्मेद्वार छनोट गरिसक्नु पर्ने बताएको छ । उम्मेद्वारको मनोनयन पत्रमा क्षेत्रीय सभापति र जिल्ला सभापतिले हस्ताक्षर गर्नुपर्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS