पाकिस्तानी पुर्वकर्नेल लुम्बिनीबाट बेपत्ता, शंकामा ‘रअ’
पाकिस्तानी सेनाका एक पूर्व कर्नेल नेपालको लुम्बिनी क्षेत्रबाट गत बिहिबारदेखि बेपत्ता भएका छन् । भारतीय जासुसी संयन्त्र ‘रअ’को नेपालमा बाक्लो उपस्थिति भएका कारण कर्नेल मोहम्मद हबिब अपहरणमा परेको हुनसक्ने पाकिस्तानी सञ्चारमाध्यमले आशंका गरेका छन ।
पाकिस्तानको प्रमुख पत्रिका ‘डन’का अनुसार सेवा निवृत्त भएपछि जागिरका लागि अन्र्तवार्ता दिन उनी नेपाल आएका थिए तर त्यो कस्तो किसिमको जागिर हो भन्ने बारे उक्त पत्रिकाले लेखेको छैन । बिहिबार उनी नेपाल–भारत सीमामा पर्ने लुम्बिनी पुगेपछि परिवारसँग सम्पर्कबिच्छेद भएको ‘डन’ले बताएको छ ।
‘हाम्रो देशका नागरिक गत बिहिबारदेखि हराइरहेको कुरा हामीले नेपालको परराष्ट्र मन्त्रालयलाई लिखित जानकारी गराएका छौं । तर त्यसको जवाफ हामीले अँझै पाएका छैनौं,’ डन पत्रिकाले पाकिस्तानी दूतावासका अधिकारी जावेद इमरानीलाई उदृत गर्दै लेखेको छ ।
पत्रिकाका अनुसार हबिब हराएको समाचार ‘व्हाट्स एप’ मोबाइल एप्लिकेसनबाट पाकिस्तानी सैनिक अधिकारीहरुको समूहमा छलफल भएको थियो र त्यसपछि उक्त समाचार सञ्चारमाध्यममा आएको थियो । हबिब अक्टोबर २०१४ मा सेवा निवृत्त भएका थिए र पाकिस्तानको एक संस्थामा काम गर्थे ।
उनले जागिरका लागि आफ्नो बायोडाटा इन्टरनेटमा राखेको ‘डन’ले बताएको छ । समाचार अनुसार मार्क थोम्प्सन नाम गरेका एक मानिसले उनलाई जागिरका लागि अन्र्तवार्ता लिन हावाई टिकट सहित नेपाल बोलाएका थिए । उनी बिहिबार काठमाडौं आएका थिए ।
त्यसपछि उनले तुरन्तै लुम्बिनीका लागि प्रस्थान गरेका थिए । उनलाई जावेद अन्सारी नाम गरेका व्यक्तिले नेपाली सिम कार्ड दिएका थिए । हराउनुभन्दा अघि अन्तिम सन्देशमा उनले आफु लुम्बिनी पुगेको परिवारलाई जानकारी दिएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्