सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उत्तर कोरियाली समुद्रमा अमेरिकी युद्धपोत तैनाथ

उत्तर कोरियाको क्षेप्यास्त्र र पारमाणविक अस्त्र सम्बन्धी कार्यक्रमलाई लिएर चिन्ता बढिरहेका बेला अमेरिकी जलसेनाले कोरियाली प्रायद्वीप नजिकै युद्धपोतको एउटा समूह तैनाथ गर्न आदेश दिएको छ ।

अमेरिकी रक्षा अधिकारीहरुका अनुसार उत्तर कोरियाको हालैको ‘उत्तेजनात्मक गतिविधि’को जवाफमा एउटा विमानवाहक र तीनवटा निर्देशित क्षेप्यास्त्र विध्वंसकसहितको ‘कार्ल भिजन स्ट्राइक ग्रुप’ परिचालन गरिएको छ ।

यसअघि प्योङयाङले बुधबार मध्यम दूरीको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो परीक्षणपछि अमेरिकी राष्ट्रपतिले आफ्ना चिनियाँ समकक्षीलाई उत्तर कोरियाली परमाणविक कार्यक्रम नियन्त्रण गर्नेतर्फ थप काम गर्न आग्रह गरेका थिए ।

अमेरिकी प्यासिफिक कमाण्डका एकजना प्रवक्ताले सो क्षेत्रका लागि उत्तर कोरिया पहिलो नम्बरको खतरा भएको टिप्पणी गरेका छन् । केही दिनअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको पारमाणविक खतरासँग एक्लै जुध्न अमेरिका तयार रहेको बताएका थिए ।

अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासका कारण आफू सक्रिय हुनुपरेको उत्तर कोरियाले बताएको छ । दुई मुलुकबीचको सैन्य अभ्यासलाई उसले अतिक्रमण गर्ने तयारीको संज्ञा दिंदै आएको छ ।

सिरियाप्रति ट्रम्पले अवलम्बन गरिरहेको नीतिलाई पनि उत्तर कोरिया नजिकबाट नियालिरहेको बताइन्छ । सिरियाली फौजले गरेको रासायनिक आक्रमणको जवाफमा अमेरिकाले हालै त्यहाँ गरेको हमलालाई उत्तर कोरियाले ‘एउटा सार्वभौम मुलुकमाथिको आक्रमण’ को संज्ञा दिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्