नेपाली यात्रुलाई हेप्ने ‘फ्लाई दुबई’माथि छानबिन
सयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय ध्वजाबाहक ‘फ्लाई दुबई’ एयरलाइन्सले नेपाली यात्रुमाथि विभेद गरेको भन्ने विषयमा सरकारले छानबिन सुरु गरेको छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल प्रशासनले फ्लाई दुबईमाथि छानबिन गर्न हवाई सुरक्षा महाशाखा प्रमुख प्रकाशचन्द्र ढकालको नेतृत्वमा छानबिन समिति गठन गरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन ।
इटाली नागरिक रिकार्डो बोल्जानले लेखेको ब्लगमा नेपाली मूलका यात्रुमाथि उक्त एयरलाइन्सले भेदभाव गरेको आरोप लगाइएपछि सरकारले छानबिन थालेको हो । ‘नेपाली नागरिकमाथि फ्लाई दुबईको कत्रो अत्याचार’ शीर्षकमा सेतोपाटी अनलाईनमा प्रकाशित लेखप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै मुख्यसचिव सोमलाल सुवेदीले यथाशिघ्र छानबिन गरी दोषीलाई कारबाही गरेर जानकारी दिन शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका थिए ।
चैत १९ गते काठमाडौंमा फ्लाई दुबईको उडान स्थगनपछि विदेशीहरूलाई पाँचतारे होटलमा राखिएको तर नेपाली नागरिकलाई सामान्य होटल र त्यसमाथि एउटै कोठामा पाँच–छ जनालाई राखेर विभेद गरिएको उक्त ब्लगमा भनिएको छ ।
यसबारे छानबिन गरी सत्यतथ्य सहित सकेसम्म छिटो प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको समितिले आफ्नो काम सुरु गरिसकेको ठाकुरले बताए । यही क्रममा समितिले सोमबार फ्लाई दुबईका कर्मचारीसँग बयान लिन लागेको उनले जानकारी दिएका छन ।
संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले पनि मुख्यसचिवको निर्देशनअनुसार फ्लाई दुबईमाथि छानबिन गरी सत्यतथ्य पत्ता लगाउन नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरिसकेको बताएका छन् ।
नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक सन्जिव गौतमले नागरिक उड्डयनसम्बन्धी अन्र्तराष्ट्रिय व्यवस्था र नेपालको कानुन मिचेर कुनै पनि हवाई सेवाप्रदायकलाई काम गर्न नदिने उनले बताएका छन । उक्त ब्लगमा उल्लिखित आरोप सही भए नेपालीमाथिको अत्याचार कसैगरी सैह्य नहुने उनको भनाइ छ ।
नेपाली नागरिकमाथि त्यस किसिमको अवहेलना र अत्याचार गरेको पुष्टि भए नेपालमा उडान नै बन्द गर्न सकिने विमानस्थलका अधिकारीहरूले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्