आईजीपीमा अर्याल, चन्द र सिलवाल द्वन्दको फाईदा
आईजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयलाई तिन साता अघि सर्बोच्च अदालतले उल्ट्याईदिएपछी रिक्त रहेको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा सरकारले डीआईजी प्रकाश अर्याललाई नियुक्त गरेको छ । सोमबार अबेर गरी बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।
सञ्चार मन्त्री राम कार्कीले अदालतको आदेशको मर्मअनुसार चार डिआइजीमध्ये चार वर्षको कार्यसम्पादन मूल्यांकनको औसतका आधारमा अर्याललाई आइजिपी नियुक्त गरिएको बताएका छन । मन्त्री कार्कीका अनुसार अर्यालको सबभन्दा बढी १५४.२ अंक छ । त्यसपछि नवराज सिलवालको १५२.४, बमबहादुर भण्डारीको १५०.२ छ । यसअघि मन्त्रिपरिषदले आइजिपी नियुक्त गरेका जयबहादुर चन्दको अंक सबभन्दा कम १४७.६ छ ।
मन्त्रिपरिषदको सोमबार रातिको बैठकले नियुक्तिको निर्णय गरेलगत्तै अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न पनि प्रदान गरिएको छ । त्यसलगत्तै अर्यालले पदभारसमेत ग्रहण गरेका छन् ।
गृहसचिव लोकदर्शन रेग्मीले राति नै मन्त्रालयका अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका उच्च अधिकारीहरूलाई बोलाएर अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न लगाइदिएका थिए ।
त्यसपछि अर्याल राति नै प्रहरी प्रधान कार्यालय गएर पदबहाली गरेका थिए । उक्त अवसरमा प्रहरीका उच्च अधिकारीको पनि उपस्थिति थियो ।
यसअघि सरकारले माघ २९ गते डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्न गरेको निर्णय चैत ८ गते सर्वोच्चले बदर गरिदिएको थियो । वरिष्ठताका हिसाबले नभई राजनीतिक तवरबाट आइजिपी नियुक्त गरेको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट हालेका थिए ।
डिआइजी नवराज सिलवालले पनि आफू प्रहरी प्रमुख बन्न योग्य रहेको भन्दै सर्वोच्चमा मुद्धा हालेका थिए । आइजिपी नियुक्तिसम्बन्धी विवाद अदालतसम्म पुगेपछि सरकारले प्रहरी नियमावली नै संसोधन गरेर निमित्तको जिम्मेवारीमा प्राविधिक तहका एआईजी दिनेशचन्द्र पोख्रेललाई सुम्पेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्