जासुसी आरोपमा भारतीयलाई पाकिस्तानमा मृत्युदण्ड
पाकिस्तानको भूमिमा जासुसी र राज्य विरोधी क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका भारतीय सेनाका कर्नेल कुलभुषण जादवलाई पाकिस्तानको सैनिक अदालतले मृत्युदण्ड दिने फैसला गरेको छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार गत वर्ष पाकिस्तानमा पक्राउ परेका भारतीय सेनाका कर्नेल जादवविरुद्ध त्यहाँको आन्दोलित प्रदेश बालोचिस्तानमा भारतीय गुप्तचर संस्था ‘रअ’का लागि काम गरेको तथा विखण्डनवादी क्रियाकलापमा संग्लग्न भएको आरोप छ ।
अदालतको यो आदेशसँगै पाकिस्तान र भारतबीचको जासुसी युद्धले नाटकीय मोड लिएको देखिन्छ । हिजो मात्र पाकिस्तानी सञ्चारमाध्यमले नेपाल भ्रमणमा रहेका आफ्ना देशका पूर्वकर्नेल मोहम्मद हबिब सीमा क्षेत्र लुम्बिनीबाट बिहिबारदेखि बेपत्ता भएको र उनलाई ‘रअ’ले अपहरण गरेको हुनसक्ने आरोप लगाएका थिए ।
जादव बलोचिस्तानको मस्केल इलाकाबाट पक्राउ परेको पाकिस्तानले जनाएको छ । भारतले भने जादव ‘रअ’का लागि काम गर्थे भन्ने कुराको खण्डन गरेको थियो । भारतको परराष्ट्र मन्त्रालयका अनुसार जादव भारतीय सेनाका अधिकृत हुन, तर केही वर्षअघि नै उनले राजीनामा दिएका थिए ।
उनी वैदेशिक व्यापारमा संग्लग्न रहेको भारतीय पक्षको दाबी छ । जादव कसरी पाकिस्तान पुगे भन्ने कुरा आफूलाई जानकारी नभएको भन्दै उनलाई पाकिस्तानी जासुसी संस्था ‘आइएसआइ’ले अपहरण गरेर पाकिस्तान पुर्याएको हुनसक्ने भारतीय पक्षको आशंका छ ।
पाकिस्तानले भने उनलाई सोझै ‘रअ’का प्रमुख र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पाकिस्तानमा आफ्नो कामको रिपोर्ट गर्ने गरेको बताएको छ । पाकिस्तानी पत्रिका डनले सैनिक अदालतको फैसलालाई उदृत गर्दै लेखेको छ–जादवको उद्देश्य चीन–पाकिस्तान आर्थिक कोरिडर निर्माणमा भाँजो हाल्नु र ग्वादर बन्दरगाह परियोजना बन्न नदिनु थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्