सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुन तस्करीको अबैध डलरसहित पाईलट सुवर्ण पक्राउ

नेपाल एयरलाइन्सको जहाज आइतबार राती युएइका लागि उड्ने तयारी गर्दै थियो । जहाज वरिष्ठ पाइलट सुर्वण अवालेको टिमले युएइसम्म लैजाने जिम्मेवारी पाएको थियो । वरिष्ठ पाइलट सुवर्ण अवाले नेतृत्वको टिम विमानस्थल भित्र छिर्छन ।

उनीहरु हिँड्ने बाटो यात्रुहरुको भन्दा अलि फरक छ । पाइलटहरुलाई धेरै चेकजाँच नभएपनि उनीहरुले बोक्ने गरेको लगेज एक्स रे मेसिनमा हालेर चेक गर्नुपर्ने प्रावधान छ । त्यो नै उनीहरुका लागि गर्ने ठूलो जाँच हो ।

आफ्नो टिमको सबैभन्दा अघि अवाले नै थिए । पछि–पछि क्रियु मेम्बर थियो । अवालेको लगेजमा केही शंका लागेपछि प्रहरीले उनलाई लगेज खोल्न आग्रह गर्छन । निकैबेर आनाकानी गरेका अवालेले लगेज खोल्दा प्रहरीले डलर देख्छ । डलर लगेजमा केहीले पनि नछोपी मिलाएर राखिएको थियो ।

अवालले एक्स रे मेसिनमा आफ्नो लगेज हालेपछि केही शंका लागेपछि चेक गर्दा ठूलो मात्रामा तस्करी हुन लागेको अमेरिकी डलर बरामद गरिएको विमानस्थलका एसएसपी प्रेम चन्दले बताए । अवालेको अगेजमा ९३ हजार ६ सय अमेरिकी डलर भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो र गौशाला प्रहरीमा पठायो ।

अवालेको लगेजमा ठूलो मात्रामा डलर भेटिएपछि अन्य क्रियु मेम्बरको लगेजमाथि पनि प्रहरीले कडा निगरानी बढाएको थियो । तर भेटिएन । यस वीचमा कोही यात्रुहरु चेकचाँच प्रक्रियामा थिए । कोही बोर्डिङ पास दिएर वेइटिङ रुममा बसिरहेका थिए ।

प्रहरीले अवालेलाई पक्राउ गरिएको जानकारी नेपाल एयरलाइन्सलाई गरायो । एयरलाइन्सले तत्काल उनको सट्टामा पाइलट महेशमान डंगोललाई बोलाएर युएइ पठायो । साढे ११ बजे उड्नुपर्ने जहाज केही बेर ‘डिले’ भएको थियो ।

युएइबाट सुन तस्करी गरेर नेपाल ल्याएको र सुन तस्करी गरे वापतको डलर युएइ लैजान लागिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । ‘सुन तस्करहरुले डलर तस्करी गर्न पाइलट र एयरहोस्टेजहरु रोज्न थालेको सूचना पाएपछि निगरानी गर्दा पाइलट अवाले फेला परेका हुन,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘तस्करहरुले आफू सुरक्षित हुनका लागि पाइलट रोजेको हुन सक्छ ।’

अवाले झण्डै ३० वर्षदेखि नेपाल एयरलाइन्समा कार्यरत थिए । उनी पहिला बोइङ उडाउँथे, पछि एयरबस आएपछि उनी त्यहाँ प्रमुख भएर गएका थिए । एयर बसको प्रशिक्षक पाइलटको तालिम लिन उनी केही महिनापछि फ्रान्स जाने तयारी थिए ।

यसभन्दा अघि करिव २५ वर्षअघि नेपाल एयरलाइन्सका पाइलट केके श्रेष्ठ दोहाबाट नेपाल जहाज लिएर आउँदा सुनको गहनासहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनको जागिरसमेत गएको थियो । अवालेलाइ प्रहरीले आजै राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्