सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अतिक्रमित जग्गा रोक्न क्रेन लिएर आफै पुगे कुलमान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जग्गा अतिक्रमण रोक्न क्रेन लिएर आफै बालाजु पुगेका छन् । प्राधिकरणको सब–स्टेशन र ग्रामीण विद्युतीकरण निर्देशनालय रहेको जग्गामा अतिक्रमण गरेर स्थानीयले बाटो बनाएको खबर पाएपछि कुलमान आफैं त्यहाँ पुगेका हुन् ।

प्राधिकरण स्वामित्वको जग्गामा अनुमति नलिई बनाउन लागिएको बाटो रोक्न कुलमानले क्रेनको सहयोगमा पोलहरु तेर्स्याउन लगाए । जग्गा अतिक्रमकारीहरुले रोक्ने प्रयास गरे तर, सुरक्षा बलका साथ पुगेका घिसिङ आफैंले क्रेनलाई कुनै हालतमा नरोक्न निर्देशन गरिरहे र, पीच गर्न ठिक्क पारिएको बाटोमा पोलहरुको अवरोध राखेर फर्किए ।

बालाजुको प्राधिकरणको सब–स्टेशन रहेको जग्गामा भएको अतिक्रमण रोक्न घिसिङ आफैं पुग्दा स्थानीयहरु चकित भएका थिए । बालाजुमा प्राधिकरणको ३६ रोपनी दुई आना जग्गा छ । तर, त्यहाँ पछिल्लो समयमा घर तथा टहरा बनाएर अतिक्रमण भइरहेको छ । अतिक्रमण रोक्न प्राधिकरणले दायर गरेको रिटमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले प्राधिकरणकै पक्षमा फैसला समेत सुनाएको छ ।

विद्युत् प्राधिकरणले बुधबारबाट आफ्नो स्वामित्वका जग्गामा भएको अनाधिकृत अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । कार्यकारी निर्देशक घिसिङ प्रवक्ता प्रबल अधिकारीसहित उच्च अधिकारी लिएर बालाजु पुगेका थिए । घिसिङले अब प्राधिकरणका अतिक्रमणमा परेका सबै जग्गाहरु हडपेर बस्नेहरुलाई हटाउने र आफ्नो जग्गा फिर्ता लिने घोषणा गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्