सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्बोच्चको पत्र

सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको छ । द्वन्द्वकालीन मुद्धामा सर्वोच्चले २०६६ पुस १९ गते ढुंगेललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

बाबुराम भट्टराई नेतृत्वको सरकारले आममाफीका लागि सिफारिस गरेपनि सर्वोच्चले गत वर्ष फागुन २३ गते आममाफी सिफारिस कार्यान्वयन गर्न रोक लगाएको थियो । तर, ढुंगेल अझै पक्राउ परेका छैनन् ।

माओवादी पूर्वसांसद समेत रहेका ढुंगेलले अदालतको फैसला खारेज गर्नेदेखि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्छु भन्दै अभिव्यक्ति दिएपछि उनी विरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्धा परेको थियो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै सर्वोच्चले ढुंगेललाई जन्मकैद सुनाएको थियो । उनलाई पक्राउ गर्न गृहमन्त्रालय, नेपाल प्रहरी लगायतलाई पत्र काटे पनि उनीहरु उदासीन रहेको भन्दै सर्वोच्चले प्रधानमन्त्रीलाई नै चिठि लेखेको हो ।

विहिबार, सर्वोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलाले प्रधानमन्त्री पुष्पकमल दहाललाई सम्बोधन गरेर चार पेज लामो पत्र पठाएका छन । ढुंगेलले फागुन २९ गते रामेछापको सैंपु गाविसमा भएको कार्यक्रममा आफु विरुद्ध फैसला सुनाउने न्यायाधीशको ‘फिला चिरिदिने’ धम्की दिएका थिए ।

‘सर्वोच्च अदालतको फैसला मान्दिन, खारेज गरिदिन्छु, गिरफ्तारीको आदेशलाई खारेज गरिदिन्छु, फैसला गर्ने न्यायाधीशको नाममा वारेण्ट जारी गरिन्छ, फिला नचिरि म जेल जान्न’ भनेर भाषण गरेको उक्त चिठिमा उल्लेख छ ।

यस्ता अभिव्यक्ति न्यायापालिकाको गम्भीर चासो र चिन्ताको विषय भएको सर्वोच्चले जनाएको छ । ढुंगेलका अभिव्यक्तिले सर्बसाधारणलाई अदालत र यसले गरेको फैसलालाई नमान्ने स्थितिको सिर्जना गर्ने, फैसला गर्ने र न्यायपालिकाको नेतृत्व सम्हाल्ने न्यायकर्मीको सुरक्षामा खतरा पुर्याउने स्थिति देखा परेको भन्दै ढंगेललाई पक्राउ गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ ।

‘यस अदालतबाट भएको फैसलाको कार्यान्वयन अनिवार्य रहेको तर अदालतले पटकपटक गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पत्राचार गर्दा पनि ति निकाय उदासिन रहेको’ रजिष्टार उप्रेतीले प्रधानमन्त्रीलाई लेखेको चिठिमा उल्लेख छ ।

ढुंगेलले अब १२ वर्ष पाँच महिना बाइस दिन कैद भुक्तान गर्न बाँकी रहेको पनि सर्बोच्चले प्रधानमन्त्रीलाई जानकारी गराएको छ । उज्जन हत्यामा ढुंगेलको साथ दिएको भन्दै जन्मकैद सुनाइएका उनका साथि पुष्कर गौतम भने यसअघि नै पक्राउ परि केन्द्रिय कारागारमा छन् ।

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2017%2F04%2Fcourt-order-on-Balkrishna-dhungel.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्