श्रीमान नेपाल फर्काईदिनुस, जग्गा बेचेरै उपचार गर्छु !
पैसा कमाउँला र परिवारलाई सुख दिउँला भन्ने सपना बोकी चार वर्षअघि रुकुम पेउघाका पवन खड्का छोराको पहिलो बर्थ डे मनाएर श्रीमती अञ्जली र छोरालाई छाडेर वैदेशिक रोजगारीका लागी मलेसिया उडे । गत फेबु्रअरीमा पवन मलेसियामै सवारी दुर्घटनामा परे । दुई महिना भयो, उनको अवस्थामा कुनै सुधार आएको छैन ।
रुकुम, पेउघा–५, भेरीपोखराकी अञ्जली खड्का नेपालबाट मलेसियामा बारम्बार फोन गर्दै आग्रह गर्छिन–‘उहाँलाई नेपाल पठाइदिनोस, घरजग्गा बेचेर भए पनि उपचार गर्छु ।’ पवनलाई यतिबेला अस्पतालबाट निकालेर कामदार बस्ने होस्टलमा राखिएको छ ।
मलेसियामा पवनले भनेअनुसारकै काम र दाम पाइरहेका थिए । काममा उनी खुशी थिए । रुकुममा उनको परिवार पनि खुसी थियो । तर, यो खुशी अहिले हराएको छ । सँगै बस्ने साथीहरुका अनुसार पवनलाई अप्रिल ७ तारीखको राति ९ बजेतिर सडक पार गर्ने क्रममा सवारी साधनले ठक्कर दिएपछि उनी त्यहीँ ढलेका थिए ।
पवनले काम गर्ने कम्पनीमा धेरै नेपालीहरु क्लिनरको काम गर्छन । होस्टेलमा पनि उनी ५७ जना नेपालीसँगै बस्थे । होस्टेलबाट पवनले काम गर्न जाने ठाउँ पैदल हिँड्दा दश मिनेटमै पुगिन्छ । पवन दुर्घटनामा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । एम्बुलेन्समा हालेर उनलाई अस्पतालमा पुर्याएपछि मात्रै साथीहरुले थाहा पाए ।
काम गर्ने कम्पनीले पवनलाई करिव एक महिना अस्पतालमा राखेर उपचार गरायो । एक महिने उपचार पछाडि अहिले उनलाई कम्पनीले होस्टलमा ल्याएर राखिदिएको छ तर, उनको अवस्था सुधार भएको छैन । पवनले अहिले कुनै पनि औषधी उपचार पाएका छैनन् ।
सँगै काम गर्ने नेपाली साथीहरु दिनभरि काममा जान्छन् । दिउँसो उनलाई सघाउने कोही हुँदैनन् । साँझ बिहान भने साथीहरुले सहयोग गर्छन् । पवनले दिशा–पिसाब पनि सुतेकै ठाउँमा गर्छन् । उनलाई दिशा–पिसाब आएको होस हुँदैन । गन्ध आएपछि साथीहरुले थाहा पाएर व्यवस्थापन गर्छन् ।
पवनको उपचारका लागि कम्पनीले धेरै नै खर्च गरिसकेको नेपालीहरु बताउँछन् । तर, उनको अवस्था खासै सुध्रिएको छैन । कम्पनीले आउँदो पुनः अस्पतालमा लैजाने कुरा गरेको होस्टलमा रहेका नेपालीले बताएका छन । अहिले भने उनलाई कुनै औषधी दिइएको छैन ।
प्लास्टर गरेको एउटा खुट्टामा घाउ छ, जहाँबाट पिप निस्किइरहन्छ । अर्काे खुट्टा तन्काउन नमिल्ने भएर कुँजिएको छ । शरीर कुपोषण भएको दुब्लो र कमजोर देखिन्छ । त्यसो त पवनका सहोदर दाजु दिलबहादुर खड्का पनि मलेसियाको मलक्का भन्ने ठाउँमा काम गर्छन् ।
भतिज दीपेन्द्र पनि क्वालालाम्पुरमा छन् । बिरामी भाइका लागि आफू धेरैपटक धाएको दिलबहादुर बताउँछन् । पवनका साथीहरु भन्छन– ‘अस्पतालमा राखिदिए बरु चन्दा उठाएर भए पनि उपचार गथ्र्यौं या नेपाल पठाउँथ्यौं, यहाँ हामीहरुलाई साह्रै अप्ठेरो भएको छ ।’
पवनलाई मलेसिया पठाउने म्यानपावर कम्पनीले पनि उनलाई नेपाल झिकाउनका लागि कुनै कसर बाँकी नराख्ने बताएको छ । पवनका भतिज दीपेन्द्रले नेपाली दुतावासमा यसबारे खबर गरिसकेको बताएका छन । अब दुतावासको सहयोगले मात्रै पवन स्वदेश र्फकन सक्छन् । तर, ढीलो भयो भने पवनको अवस्था झनै जटिल बन्दै जाने देखिन्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्