सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अमेरिकालाई परमाणु हमला गर्ने कोरियाको चेतावनी

उत्तर कोरियाका एक जना उच्च सरकारी अधिकारीले अमेरिकाले कुनै सैनिक कारबाही गरे त्यसै दिनबाट पूर्ण रुपमा युद्धमा होमीन उनको देश तयार रहेको बताएका छन । उत्तर कोरियाका उप विदेशमन्त्री हाङ सोङ योलले बीबीसीसँग कुरा गर्दै अमेरिकाले आक्रमण गर्न लागेको सङ्केत पाउने वित्तिकै परमाणु हमला गर्ने चेतावनी दिएका छन ।

हानले प्योङयाङले साप्ताहिक, मासिक र वार्षिक रुपमा थप क्षेप्यास्त्रहरु परीक्षण गर्ने पनि जनाएका छन । यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले आफ्नो परामाणु कार्यक्रमलाई निरन्तरता दिएर अमेरिकी धैर्यको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिएका थिए ।

उत्तर कोरिया र अमेरिका दुवै तर्फबाट कडा चेतावनी सहितका वक्तव्य आउन थालेपछि कोरियाली प्रायद्विपमा तनाव चुलिंदै गएको छ । बीबीसीसँग उत्तर कोरियाली उपविदेशमन्त्री हाङले भने, ‘यदी अमेरिकाले हामी विरुद्ध सैन्य आक्रमणको तयारी गर्यो भने उसले हमला गर्नुअघि नै हामी आफ्नै शैली र तरिकाले परमाणु आक्रमण गर्नेछौँ ।’

अन्तराष्ट्रिय आलोचना तथा राष्ट्रसंघको प्रतिबन्धकाबीच हालैका वर्षहरुमा उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको छ । उसले अमेरिका सहित विश्वका अन्य निशानामा पुग्ने खालको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमा परमाणु वारहेड जडान गर्ने लक्ष्य लिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो अवस्था आउन नदिने भन्दै उत्तर कोरियालाई कुटनीतिक रुपमा एक्ल्याउन पहल गरिरहेका छन् । उनले कोरियाली प्रायद्विपमा नौसेनाको एउटा आक्रमणकारी दस्ता परिचालन गरेका छन् र अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा क्षेप्यास्त्र विध्वंशात्मक प्रणाली तत्कालै स्थापना गर्ने तयारी अघि बढाएका छन ।

तनावका माझ उत्तर कोरियाले छिट्टै छैठौँ पटक परमाणु परीक्षण गर्नसक्ने पर्यवेक्षकहरुको धारणा छ । आफ्ना संस्थापक नेताको जन्म दिवसको एक दिनपछि गएको आइतबार उसले गरेको एउटा क्षेप्यास्त्र परीक्षण विफल भएको थियो । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति ह्वाङ ग्यो हानसँगै पत्रकार सम्मेलनमा अमेरिकी उपरराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिएका थिए ।

उनले भने, “हालै विश्वले हाम्रा नयाँ राष्ट्रपतिले सिरिया र अफगानिस्तानमा चालेका कदमहरुको सामथ्र्य देखेको छ । उत्तर कोरियाले हाम्रा राष्ट्रपतिको संकल्प र यस क्षेत्रमा रहेको अमेरिकी सैन्य बलको शक्तिलाई परीक्षण गर्न नखोजोस’’ उनले अमेरिकाले ‘शत प्रतिशत’ दक्षिण कोरियालाई समर्थन गर्ने पनि बताएका थिए ।

अमेरिकाले उत्तर कोरियाको मुख्य साझेदार चीनसँग मिलेर परमाणु कार्यक्रम र क्षेप्यास्त्र परीक्षण रोक्न प्योङयाङलाई बाध्य पार्ने नीति लिएको छ । उपराष्ट्रपति पेन्सले चीनले आफ्नो प्रभाव प्रयोग गरी उत्तर कोरियामाथि दबाब बढाउने विश्वास ह्वाइट हाउसले लिएको धारणा राखेको एसोशिएटेड प्रेसले जनाएको छ ।

उत्तर कोरियाले अमेरिकी गतिविधिलाई उत्तेजक भन्दै आएको छ । राष्ट्रसंघमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उत्तर कोरियाका स्थायी प्रतिनिधिले सिरियामा भएको अमेरिकी हवाई हमलाको निन्दा गरेका थिए ।

उनले अमेरिकाले विश्व शान्ति र स्थिरता खल्बल्याइरहेको आरोप लगाउँदै सार्वभौम देशमाथिको हस्तक्षेप अस्वीकार्य हुने धारणा राखेका थिए । चीनले उत्तर कोरियालाई सबै परीक्षणहरु रोक्न आग्रह गरेको छ र शान्तिपूर्ण समाधानमा जोड दिएको छ ।

रुसले चाहिं मस्कोले प्योङयाङ्को ‘क्षेप्यास्त्र मोह’ स्वीकार नगर्ने बताउँदै एकतर्फी अमेरिकी कारबाहीले जोखिमपूर्ण अवस्था ल्याउन सक्ने चेतावनी दिएको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले पनि कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने भन्दै वार्ताका लागि मात्रै वार्ता गर्नुको अर्थ नहुने बताएका छन । उनले प्योङ्याङलाई अन्तराष्ट्रिय समुदायसँग वार्ता गर्न जापानले दबाब दिनुपर्ने धारणा पनि राखेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS