सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकी राष्ट्रपति निर्वाचनका रोचक तथ्य

अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टनबीच अन्तिम प्रतिस्पर्धा हुने निश्चितजस्तै भइसकेको छ । यसले अब यी दुई उम्मेदवारमध्ये जसले बाजी मारे पनि ऐतिहासिक बन्नेछ । यसका केही तर्क र कारणहरू रहेका छन् ।

बाराक ओबामा सन् २००९ मा पहिलोपटक राष्ट्रपति निर्वाचित हुँदा उनको उमेर मात्रै ४७ वर्ष थियो र उनी अमेरिकाको इतिहासमै पाँचौं कम उमेरका राष्ट्रपति हुन् । थियोडोर रुजबेल्ट ४२ वर्षको उमेरमा अमेरिकी राष्ट्रपति बनेका थिए । उनी सबैभन्दा कम उमेरमा अमेरिकी राष्ट्रपति बन्ने व्यक्ति हुन् । तर, अहिलेका सम्भावित उम्मेदवार रहेका दुवैजना वर्तमान राष्ट्रपति ओबामाभन्दा बढी उमेरका छन् ।

यसअघि रोनाल्ड रेगन ६९ वर्षको उमेरमा राष्ट्रपति बनेका थिए । डोनाल्ड ट्रम्प १४ जुनमा ७० वर्ष पुग्दै छन् । उनी राष्ट्रपति बनेमा अहिलेसम्मकै सबैभन्दा वृद्ध राष्ट्रपति बन्नेछन् । हिलारी क्लिन्टन चुनावभन्दा दुई साताअघि ६९ वर्ष पुग्दै छिन् । उनी राष्ट्रपति बनेमा दोस्रो सबैभन्दा बढी उमेरकी राष्ट्रपति बन्नेछिन् । अहिले दोस्रो सबैभन्दा बढी उमेरका अमेरिकी राष्ट्रपतिमा विलियम हेनरी ह्यारिसन रहेका छन् ।

सन् १८४१ मा राष्ट्रपति बनेका उनी बेलायती भूमिमा जन्मिएका अन्तिम अमेरिकी राष्ट्रपति हुन् । यसपटकको राष्ट्रपति पदको अन्तिम प्रतिस्पर्धामा पुगेका हिलारी र ट्रम्प दुवै न्युयोर्कका बासिन्दा हुन् । राष्ट्रपतिका लागि सन् १९४४ पछि पहिलोपटक न्युयोर्कका नेताबीच प्रतिस्पर्धा हुनेछ । सन् १९४४ मा न्युयोर्कका गर्भनर थोमस ई डेभी र फ्रैंकलिन डी रुजबेल्टबीच प्रतिस्पर्धा भएको थियो । अब जसले जिते पनि ७१ वर्षपछि न्युयोर्कबाट पहिलो अमेरिकी राष्ट्रपति बन्नेछन् ।

हिलारी क्लिन्टनको जन्म सिकागोमा भए पनि उनी न्युयोर्ककी सिनेटर भएकी थिइन् भने उनी न्युयोर्कमै बस्दै आएकी छन् । ट्रम्पले जितेमा अर्को पनि रेकर्ड बन्नेछ । उनी ६० वर्षपछि कुनै राजनीतिक अनुभव नभएका र निर्वाचित संस्था चलाएको अनुभव नभएका व्यक्ति हुनेछन् । यसअघि राजनीतिक अनुभव नभएका अमेरिकी राष्ट्रपति डेभिड आइजनआवर थिए ।

दोस्रो विश्वयुद्धमा मित्रराष्ट्रको सेनाका सुप्रिम कमान्डर उनी सन् १९५३ मा राष्ट्रपति बनेका थिए । यसअघि सन् १९२९ मा राष्ट्रपति बनेका हर्बट हुवर एक इन्जिनियर र मानवतावादी थिए ।

हिलारी क्लिन्टन राष्ट्रपति बने उनी पहिलो महिला अमेरिकी राष्ट्रपति बन्नेछिन् । यसअघि सन् २००८ मा रिपब्लिकन पार्टीका उम्मेदवार जोन मेकेन रहँदा अलास्काकी गभर्नर सारा पलिन उपराष्ट्रपति पदकी उम्मेदवार थिइन् ।

सन् १९८४ मा डेमोक्रेटिक पार्टीबाट बाल्टर मोडेल राष्ट्रपतिको दौडमा रहँदा गेराल्डिन फेरारो उपराष्ट्रपतिकी उम्मेदवार थिइन् । तर, दुवै निर्वाचनमा उनीहरू पराजित भए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्