सिलवालमाथी कुनै कारबाही नगर्न सर्बोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल प्रहरीका डीआईजी नवराज सिलवालमाथि छानविन लगायतका कुनै पनि कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशहरु जगदिश शर्मा पौडेल, ईश्वर खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले अदालतमा बिचाराधीन मुद्दाको किनारा नलागेसम्म कुनै कारवाही अघि नबढाउन आदेश दिएको हो ।
आईजीपी नियुक्तिमा सिलवालले आफूमाथि अन्याय भएको भन्दै दायर गरेको मुद्दाको बैशाख १९ गतेबाट पूर्ण इजलासले सुुनुवाई हुँदैछ ।
अब त्यसअघि सिलवालमाथि सरकारले कुनै कारवाही चलाउन नपाउने आदेश जारी भएको सिलवालको पक्षमा बहस गरेका नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले बताएका छन ।
सरकारी कागज किर्ते गरेको अभियोगमा सरकारले डीआईजी सिलवालमाथि छानविन थालेको थियो ।
डीआईजीकै नेतृत्वमा बसेको छानविन समितिले सोमबार सिलवाललाई पक्राउ गरेर बयान लिने प्रयास गरेको थियो । तर, बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेपछि सिलवाल छुटेका थिए ।
के भनिएको छ त अदालतको आदेशमा ?
अदालतले नवराज सिलवालमाथि भइरहेको छानविनलाई ‘कथित छानविन’ भन्दै आईजीपी नियुक्ति सम्बन्धी कुनै पनि प्रसंगलाई लिएर सिलवाल उपर कुनै प्रकारबाट छानविन, निलम्बन वा कुनै प्रकारको अभियोगमा मुद्दा लगाउने कार्य नगर्न नगराउन सरकारलाई आदेश दिएको छ ।
आदेशमा भनिएको छ–‘प्रस्तुत रिट निवेदक उपरको सुनुवाईको अन्तिम टुंगो नलागेसम्म प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने सम्बन्धी कुनै पनि प्रसंगलाई लिएर नवराज सिलवाल उपर कुनै प्रकारबाट छानविन गर्ने, निलम्बन गर्ने, कुनै प्रकारको अभियोगमा मुद्दा लगाउने लगायतका कार्य नगर्नु नगराउनु ।’
अदालतबाट भएको फैसला वा निर्णयले ठहर गरेका विषयमा सरकारको कुनै पनि निकायबाट छानविन गर्ने, कुनै तथ्यलाई अन्यथा ठहर गर्ने कार्य गैरकानुनी तथा आपत्तिजनक देखिएको आदेशमा उल्लेख छ ।
आदेशमा भनिएको छ–‘कथित छानविनको नामबाट निवेदकमाथि विविध कारवाही प्रक्रिया अघि बढाएको देखियो । त्यस अवस्थामा अदालतको कामकारवाही प्रभावित हुने गरि सरकारको कुनै पनि निकायबाट काम कारवाही गरिनेलाई उचित र स्वीकार्य मान्न सकिदैन । त्यस प्रकारको प्रवृतिलाई स्वभाविक प्रक्रिया र कानुनको शासनको मान्यता अनुकुल मान्न पनि मिल्दैन ।
सिलवालको तर्फबाट बरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा, तुलसी भट्ट, हरि फुयाल, टिकाराम र मेघराज पोखरेलले बहस गरेका थिए ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्